नेपालको लगातार तेस्रो हार


काठमाडौं।

नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ ।
नेपालले सोमबार भएको मेलबर्न स्टार्सविरुद्धको खेलमा ३१ रनले हार बेहोरेको हो । जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाली टोली २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटिएको थियो ।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र आसिफ शेखले राम्रो साझेदारी गरिरहेका थिए । उनीहरूले सिरिजमा पहिलो जित दिलाउने आस देखाए । तर, यो साझेदारी ८७ रनको हुँदा रोहित आउट भएर टुट्यो । उनी ३३ रनमा आउट भए भने यसपछि आसिफ पनि ५३ रन बनााउँदैं पभेलियन फर्के । यहीबाट नै नेपाल हारतिर अग्रसर भएको थियो ।

यद्दपि दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र आरिफ शेख जस्ता भरोसामन्द खेलाडी थिए । तर, उनीहरूको कमजोर ब्याटिङले नेपालको हार पक्का भएको थियो । दीपेन्द्र १ रन र कुशल ११ रनमा आउट भए भने आरिफ ८ रनमा नटआउट रहे ।

यसअघि ओपनर कुशल भुर्तेलल २५ रन जोडेर आउट भए भने भीम सार्की १ रनमै आउट भएका थिए । यी दुई विकेट गुमाउँदासम्म नेपालको स्कोर ३२ थियो । बलिङमा अष्टिन एनलेजार्क र डाउ वारेनले समानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । ओपनर क्याम्पबेल केलावे २ रनमा सोमपाल कामीको बलमा आउट हुँदा मेलबर्न स्टार्सले मात्र २ रन बनाएको थियो ।

तर यसपछि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे । उनीहरूले १ सय २२ रनको साझेदारी गर्दै नेपाली टोलीलाई निरास पारेका थिए । यो साझेदारी सन्दीप लामिछानेले तोडेका थिए । बेल्कले ७४ रन बनाए भने थोमसले ४६ रन जोडेका थिए ।
नेपाली बलिङमा सन्दीपले ३ विकेट लिए भने सोमपाल र सहाब अलामले १÷१ विकेट झारे । सन्दीपले यसअघि पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध पनि ३ विकेट लिएका थिए । तर, नेपालले त्यो खेल जित्न सकेन । यसपछिको दोस्रो खेलमा बंगलादेशको ए टोलीसँग पनि नेपाल पराजित भएको थियो । नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्नेछ ।