चाँदी आयातमा भुक्तानी सीमा बढायो


काठमाडौं।

नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि भुक्तानी सीमा बढाएको छ। केन्द्रीय बैंकले आइतबार एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातमा डलर सटही सुविधाको सीमा प्रतिपटक ३ लाख अमेरिकी डलरबाट बढाएर ५ लाख अमेरिकी डलर कायम गरेको हो ।

यसअन्तर्गत विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ । संशोधित व्यवस्था अनुसार, सुनचाँदी व्यवसाय गर्ने उद्योगले आफ्नै प्रयोजनका लागि औद्योगिक कच्चा पदार्थको रूपमा चाँदी आयात गर्दा प्रतिपटक अधिकतम ५ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन् ।

त्यसैगरी, अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक १ लाख अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रासम्म सटही सुविधा लिन सक्नेछन् । तर, चाँदी निर्यात गर्ने व्यवसायीलाई भने निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतीतपत्र वा विदेशबाट खरिद आदेशको आधारमा सटही सुविधा प्रदान गरिनेछ । यस्तो अवस्थामा चाँदी आयात भुक्तानी सीमाको व्यवस्था लागू नहुने केन्द्रीय बैंकले जनाएको छ ।

साथै, सटही सुविधा उपलब्ध गराउने वाणिज्य बैंकले प्रत्येक पटक सो सुविधा दिनेअघि अघिल्लो पटक दिएको सटही सुविधामा आयात भएको चाँदी तोकिएकै अनुसार निर्यात भएको छ वा छैन भन्ने एकिन गर्नुपर्ने प्रावधान राखिएको छ । अन्य वाणिज्य बैंकमार्फत सटही सुविधा लिएर निर्यात भुक्तानीमा वक्यौता नरहेको सम्बन्धी स्वघोषणा व्यवसायीबाट लिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।