काठमाडौं।
नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१-८२ मा विद्युत् खपत १० दशमलव ७ प्रतिशतले बढेर ११ हजार ३१९ गिगावाट घण्टा पुगेको जनाएको छ । सोही अवधिमा उपभोक्ताको संख्या पनि ४ दशमलव ६ प्रतिशतले वृद्धि भई ५७ लाख नाघेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार हाल राष्ट्रिय प्रणालीमा जडित क्षमता ३ हजार ५९१ मेगावाट पुगेको छ । यसमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र ऊर्जा उत्पादकहरूको योगदान ५५ प्रतिशत र भारतबाट आयातित बिजुलीको हिस्सा ११ प्रतिशत रहेको छ ।
प्राधिकरणले विद्युत् बिक्री (निर्यातसहित) बाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपियाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ४६ प्रतिशतले बढी हो । अन्य आम्दानीसहित कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड पुगेको छ । तर, खर्च बढेकाले नाफामा गिरावट आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपियाँ पुगेको छ । यसमध्ये विद्युत् खरिदमा मात्र ७७ अर्ब १० करोड (११ दशमलव ७३ प्रतिशत वृद्धि) खर्च भएको छ । उत्पादनमा २ अर्ब ७ करोड, प्रसारणमा ३ अर्ब २४ करोड, वितरणमा १२ अर्ब २२ करोड र रोयल्टीमा १ अर्ब ८४ करोड रुपियाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
गत वर्ष प्राधिकरणको कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख कायम भएको छ, जुन अघिल्लो वर्षको १३ अर्ब ३० करोडको तुलनामा ३७ दशमलव ३२ प्रतिशतले कम हो । यद्यपि, प्राधिकरण २०७२÷७३ मा ८ अर्ब ८९ करोड घाटा बेहोरेपछि लगातार नाफामा रहेको छ ।
प्राधिकरणको कुल सम्पत्ति ६ दशमलव २ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । हाल निजी क्षेत्रबाट सञ्चालित २०४ आयोजना मार्फत २,९२९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने १४२ आयोजना (४,३०३ मेगावाट क्षमता) निर्माणाधीन छन् ।
प्राधिकरणका अनुसार २०८१÷८२ मा मात्र ३१ निजी प्रवद्र्धकसँग ९३२ मेगावाटका जलविद्युत् आयोजना र ८ प्रवद्र्धकसँग १७० मेगावाट क्षमताका सौर्य आयोजना खरिद सम्झौता भएको छ । अहिलेसम्म निजी प्रवद्र्धकसँग कुल ११,४३६ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । प्राधिकरणले विद्युत् चुहावट ० दशमलव ४७ प्रतिशतले घटाएर १२ दशमलव २६ प्रतिशतमा सीमित गरेको दाबी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण पछिल्ला वर्षहरूमा निरन्तर नाफा कमाउँदै भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न सफल भएको बताउनुभएको छ ।
४०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले लामो समयसम्मको लोडसेडिङ अन्त्य प्राधिकरणको प्रमुख उपलब्धि भएको उल्लेख गर्दै ऊर्जा आपूर्ति सुदृढ बनाउन उच्च भोल्टेज प्रसारण लाइन, सबस्टेसन निर्माण, वितरण प्रणाली सुधार र ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजना अध्ययन–निर्माणमा प्राधिकरण सक्रिय रहेको जानकारी दिनुभयो ।











प्रतिक्रिया