बायर्न म्युनिकले जित्यो जर्मन सुपर कप


लन्डन, (एजेन्सी)

बायर्न म्युनिकले स्टुटगार्टलाई २–१ ले पराजित गर्दै जर्मन सुपर कप उपाधि जितेको छ । टोलीलाई उपाधि दिलाउन नयाँ खेलाडी लुइस डियाजले एक गोल गरे भने हेरी केनले एक गोल गरेका हुन् ।
लिभरपुलबाट ६५.५ मिलियन पाउण्डमा बायर्नमा पुगेका डियाजले ७७ औं मिनेटमा गोल गरेका थिए । यसअघि १८ औं मिनेटमा केनले गोल गरेका थिए । इन्ज्युरी समयमा स्टुटगार्टका जेमी लेवेलिङले एक गोल फर्काए ।

योसँगैं बायर्नले २०२५–२६ को सिजनको पहिलो उपाधि जितेको छ । बायर्नले जर्मन सुपर कप ११ औँ पटक जितेको कीर्तिमानसमेत बनाएको छ । केनका लागि भने यो दोस्रो जर्मन उपाधि हो ।