एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस सार्वजनिक


काठमाडौं ।

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्‌स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२औँ संस्करणको स्पोर्ट्‌स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् ।

आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उनीहरुको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको हो । स्पोर्ट्‌स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने गरिन्छ ।

मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्‌नो एक सपना पूरा भएको बताइन् । उनले भनिन्‌– स्पोर्ट्स अवार्डमा मनोनित हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरुले मलाई माया गर्नुहुनेछ । त्यसैगरी विजयले उसु खेल अन्य खेल जस्तै लोकप्रिय नभएपनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले भने– “स्पोर्ट्‌स अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थेँ कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना पूरा भएको छ ।”

आइतबार पत्रकार सम्मेलनमा पुजा, इभाना र हिमाल उपस्थित हुन सकेनन् । पूजा क्रिकेट प्रशिक्षणको क्रममा भारतमा छिन् । यसैगरी इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् । पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीेमा प्राप्त मतका आधारमा हुनेछ । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ । त्यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । एनएसजेएफ पल्सर स्पोर्ट्‌स अवार्ड २०८१ मा कूल दस विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपल्स च्वाइसलगायत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्‌स जर्नालिस्ट अवार्ड रहेका छन् । पल्सर स्पोर्टस् अवार्ड २०८१ भदौ २९ गते पोखरामा हुँदैछ ।

मञ्च र आइएमइ खल्तीबीच सम्झौता

नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा गौतमले यसपालीको स्पोर्ट्‌स अवार्ड पोखरामा हुनुमात्र होइन खल्तीसँगको सम्झौता अर्को फरकपन हो भने । कमर्सियल अफिसर गौतमले आइएमइ खल्तीले स्पार्ट्‌स अवार्डमा मनोनयनमा परेका तथा विजेता सबै खेलाडी तथा खेलकर्मीहरुलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी पनि दिए ।

त्यसैगरी मञ्चका अध्यक्ष अधिकारीले यस सम्झौताले स्पोर्ट्‌स अवार्डलाई थप उचाइमा लैजाने विश्वास लिएका छन् । उहाँले आईएमई खल्ती परिवारप्रति कृतज्ञ छौं भन्दै खल्तीले स्पोर्ट्‌स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरे । यसअघि मञ्चले डिजिटल पार्टनरको रुपमा ई–सेवासँग लगातार छ वर्ष सहकार्य गरेको थियो । अध्यक्ष अधिकारीले सो सहकार्यका लागि इ सेवालाई धन्यवाद पनि दिए । त्यस अवार्डकै लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७औं वर्ष सहकार्य गरिसकेको छ । त्यसैगरी मञ्चले अवार्ड कार्यक्रमको प्रवद्र्धकको रूपमा रहेको पोखरा महानगरपालिकासँग पनि सम्झौता गरिसकेको छ ।