धादिङ ।
शनिवार दिउँसोको निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण धादिङबेसी–मलेखु कालुपाण्डे मार्ग अवरुद्ध भएको छ ।भारी वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन ठप्प भएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका- ८ स्थित पुछारबजार कृष्ण मन्दिर, कमेरे खोला लगायत ठाउँहरुमा पहिरो खसेर अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको छ।
धादिङबेसी–मलेखु सडक राजधानी काठमाडौँ, पोखरा लगायतका शहरसँग धादिङ जिल्लाको सदरमुकामलाई जोड्ने मुख्य मार्ग भएकाले यसको अवरोधले यात्रु समस्यामा परेका छन् ।
अत्यावश्यक काममा यात्रा गरिरहेका सर्वसाधारणले वैकल्पिक मार्गको खोजी गरिरहेका छन् । सुरक्षा निकायले सम्भावित थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र अत्यावश्यक नपरेसम्म यात्रा नगर्न आग्रह गरेको छ।
जिल्ला भर एकसाथ भारी वर्षा भएको हो । वर्षाका कारण पृथ्वी राजमार्गकाे धादिङ खण्ड समेत अवरोध भएकाेे छ । प्रहरी, स्थानीय सरकार, सशस्त्र प्रहरी र नेपाली सेना नागरिक सहायता र पहिरो पन्छाउन सुरु गरेका छन् ।











प्रतिक्रिया