अण्डर डिस्टेन्स दौडमा शिवराज र सलिम संयुक्त रुपमा प्रथम


काठमाडौं ।

एपीएफका शिवराज पार्की र त्रिभुवन आर्मीका सलिम देवान प्रथम खुल्ला अण्डर डिस्टेन्स दौड प्रतियोगिता २०८२ अन्तर्गत पुरुष ६० मिटर स्पर्धामा संयुक्त रुपमा प्रथम भएका छन् ।

नेपाली एथ्लेटिक्स क्षेत्रका पुराना हस्तीहरू र हिमालयन रनिङ क्लबको संयुक्त आयोजनामा शुक्रवार दशरथ रंगशालामा भएको यस प्रतियोगितामा प्रथम हुने दुवै जनाले निर्धारित ६० मिटर दूरी ६.६ सेकेन्ड्समा पूरा गरेका हुन् । नेपालमा फोटो फिनिश प्रविधि उपलब्ध नभएकोले भ्युजल रेकर्डको आधारमा दुवै प्रतिस्पर्धीलाई प्रथम घोषणा गरिएको हो । सोही इभेन्ट्समा ६.७ सेकेन्ड्समा दूरी पूरा गरेका प्रविण राणा भने तेस्रो भए । त्यसैगरी महिला ६० मिटर स्प्रिन्टमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी र रन्जिता अधिकारी प्रथम र द्वितीय बन्दा एपीएफकी लक्ष्मी कुमारी साउद तेस्रो बनिन् ।

त्यस्तै, महिला १५० मिटर स्प्रिन्टमा नेपाल प्रहरीकी सीमा चौधरी, त्रिभुवन आर्मीकी जयरानी थारु र कन्चनपुरकी पूजा चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो बनिन् भने पुरुषतर्फ‌ एपीएफका सुशील केसी पहिलो तथा आदेश कुमार यादव र निश्चल महतो दोस्रो र तेस्रो भए । त्यस्तै, पुरुष ३५० मिटर स्पर्धामा त्रिभुवन आर्मीका युवराज बिके, कैलालीका सागर चौधरी र त्रिभुवन आर्मीकै प्रेम बहादुर सुनुवार क्रमशः प्रथम, द्वितीय र तृतीय बने ।

सोही स्पर्धाको महिलातर्फ एपीएफकी रमिता कुमारी थारु‌ प्रथम हुँदा त्रिभुवन आर्मीका सरस्वती थारु र कलेशी चौधरी दोस्रो र तेस्रो भइन् । त्यस्तै, पुरुष ६०० मिटरमा त्रिभुवन आर्मीका सोमबहादुर कुमाल र मुकेश बहादुर पाल प्रथम र दोस्रो बन्दा खुम बहादुर शाहीले तेस्रो स्थान हासिल गरे । सोही स्पर्धाको महिलातर्फ भने पोखराकी नारायणी भण्डारी, एनएकी भगवती खड्का र ललितपुरकी अनिशा विश्वकर्मा प्रथम, द्वितीय र तृतीय बनिन् ।

प्रशिक्षक राकेश बज्राचार्यको संयोजकत्वमा धनिराम चौधरी, देवीबहादुर बस्नेत तथा एथ्लेटिक्स अफिसियल समूहको बिशेष पहल र एथ्लेटिक्सप्रेमीहरुको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगितामा एक व्यक्तिले एक विधामा मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । देशभरिका खेलाडीहरूलाई खुला रुपमा सहभागी गराइएको यस प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएकालाई मेडल, प्रमाणपत्र सहित क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेताहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, विशेष अतिथि सूर्य विनायक नगरपालिकाका सुमित्रा थापा, एथ्लेटिक्स क्षेत्रका विशिष्ट र वरिष्ठ व्यक्तिहरु सुशील नरसिंह राणा, रघुराज वन्त, मोहन नेपाल लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा एक साताअघि भारतमा भएको वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल ब्रोन्ज टूरमा लङ्गजम्प तर्फ नयाँ राष्ट्रिय किर्तिमान बनाएका सलिम देवान र सीमा चौधरीलाई पनि सम्मान गरिएको थियो ।

आयोजकले यस्तो किसिमको प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै लैजाने योजना रहेको बताए । जसबाट युवा खेलाडीहरूको स्तरवृद्धि मात्र नभई एथ्लेटिक्स खेलको लोकप्रियता बढाउने दीर्घकालीन लक्ष्य पूरा हुने विश्वास लिएको छ । प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली रूपमा प्रस्तुत हुन सहयोग पुर्‍याउने अपेक्षा आयोजकको छ ।