काठमाडौं ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आज (शुक्रबार) बोलाइएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ। समितिका कुल २६ सदस्यमध्ये ५१ प्रतिशत अर्थात् कम्तीमा १४ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था भए पनि आजको बैठकमा १२ जना मात्र सांसद उपस्थित भएका थिए।
समितिका सचिव एकराम गिरीका अनुसार गणपूरक सङ्ख्या अभावका कारण बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ मा समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको आधाभन्दा बढी हुने व्यवस्था छ।
आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धी उजुरीमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले समितिमा दिएको उजुरीमा, मालबाहक सवारी साधनको भारवहनसम्बन्धी निर्देशिका २०७४ ले तोकेको मापदण्ड विपरीत अतिरिक्त भार बोकिँदा सडक र पुलको अवस्था बिग्रिरहेको र दुर्घटनाको जोखिम बढेको दाबी गरिएको छ।
महासङ्घले विद्यमान कानूनी प्रावधानको कार्यान्वयन र नियमन कमजोर हुँदा समस्या बढेको भन्दै आवश्यक कदम चाल्न समितिको ध्यानाकर्षण गराएको हो।











प्रतिक्रिया