त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक आर्यालको कार्यकक्षको मूल गेटमा अनशन बसेका अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले सोमबार दिउँसो रजिस्ट्रार केदार रिजालमाथि हातपात गरेका छन् । करिब एक महिनादेखि अराजकता प्रदर्शन गर्न थालेका अनेरास्ववियु (क्रान्तिकारी)ले तीनैजना पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । ‘जो चोर उसकै ठूलो स्वर’ भनेझैँ पदाधिकारीमाथि आक्रमणमा उत्रेका विद्यार्थी आफैँले त्रिविलाई दोष दिनु निन्दनीय छ । रिले अनशन बसेका विद्यार्थीले रजिस्ट्रार रिजालमाथि अभद्र व्यवहार गरेका हुन् । क्रान्तिकारी विद्यार्थीले गरेको तोडफोडको सर्वत्र निन्दा भएको छ । सो विद्यार्थी संगठनले गएको वर्ष असोज १ गतेबाट स्थापना भएका चार विभागमा अध्ययनरत विद्यार्थीको शुल्क अन्य विभागसरह हुनुपर्ने माग गरिरहेका छन् ।
धर्ना भएदेखि उपकुलपति अर्याल २५ दिनयता कार्यालय प्रवेश गर्न सक्नुभएको छैन । आफ्नै कार्यालयमा जाने अवस्था नदेखेपछि उपकुलपति कार्यालयले सरकार गुहारेको छ । उनीहरुले अंगरक्षक राख्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्र पठाएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखकसँग समेत सुरक्षाको माग गर्दै अंगरक्षक खटाइदिन आग्रह गरेका छन् । रजिस्ट्रार रिजालले माग पूरा गर्ने विषयमा अनेरास्ववियुसँग छलफल गरिरहेको अवस्थामा क्रान्तिकारीका विद्यार्थी एकाएक रजिस्ट्रारको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेका थिए । तोडफोडको कारण दुई पदाधिकारीको कार्यालयमा क्षति पुगेको छ । त्रिविका पदाधिकारीको कार्यकक्षमा तोडफोड गर्न पुगेका विद्यार्थी र प्रहरीबीच केही बेर झडप भएको थियो । प्रहरीले विद्यार्थीलाई तितरबितर गरेपछि त्रिवि शान्त भएको छ । झडपका क्रममा केही विद्यार्थी र प्रहरी घाइते भएका छन् । प्रहरीसँग भीडन्त भएपछि विद्यार्थीलाई कार्यकक्षमा रोक लगाइएको थियो । तीनै पदाधिकारीको कार्यालय प्रहरीको घेराभित्र छ ।
उपकुलपति अर्याल नियुक्त भएको करिब डेढ महिना भयो । उहाँ कार्यकक्षमा १९ दिनभन्दा बढी बस्न पाउनुभएको छैन । विद्यार्थीले मागलाई ट्वीस्ट गर्दै आफ्नो माग पूरा नभए आमरण अनशन बस्ने चेतवनी दिएका छन् । अघिल्ला उपकुलपति प्राडा केशरजंग बरालको कार्यकालमा भएको निर्णय कार्यान्वयन गर्न उपकुलपति अर्याललाई दबाब दिएका छन् । उपकुलपति अर्यालले हनिमुन पिरियड मनाउन नपाउँदै विद्यार्थी संगठन तोडफोडमा उत्रिएपछि त्रिविमा सुरक्षा चुनौती बढेको छ ।
कार्यक्रमको रुपमा रहेका चार विषयलाई गएको असोज १ गते विभाग बनाइएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक, द्वन्द्व शान्ति र विकास, सामाजिक कार्य र लैंगिक अध्ययन विभाग विभाग गठन गरिएको थियो । अध्ययनविना हचुवाको भरमा विभाग बनाएको आलोचना भएको थियो । अघिल्ला तीन पदाधिकारीले जबरजस्ती विभाग गठन भएदेखि समस्या थियो । आफैँ कमाएर खानुपर्ने विभागमा प्रतिसेमेस्टर करिब ३६ हजार रुपियाँ लाग्छ । तर क्रान्तिकारीले प्रतिसेमेस्टर करिब १५ हजार रुपियाँ मात्र लिन दबाब दिएका थिए । विद्यार्थीले भनेजस्तै माग पूरा गर्ने सम्भवना छैन । वार्ताबाट समस्या समाधान गर्न छाडेर तोडफोडमा उत्रनु विद्यार्थीको गलत प्रवृत्ति हो । यसलाई निरुत्साहित गर्न सरोकार निकायले ध्यान दिनु आवश्यक छ ।











प्रतिक्रिया