लमजुङमा दूध उत्पादनमा तीन गुणा वृद्धि, किसानलाई २७ लाख बढी  प्रोत्साहन

752
Shares

लमजुङ। 

पछिल्ला वर्षमा लमजुङमा व्यावसायिक  दूध  उत्पादन उल्लेख्य रुपमा बढेको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती चरणमा दैनिक करिब एक हजार दुई सय लिटर  दूध बाहिरिने गरेकोमा आर्थिक वर्ष २०८१-०८२ को अन्त्यसम्म पुग्दा यो मात्रा बढेर दैनिक तिन हजार दुई सय लिटर पुगेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङको तथ्यांक छ ।

केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार, विशेषगरी राईनास नगरपालिका क्षेत्रमा गाईपालनमा कृषकको चासो बढेपछि उत्पादन मात्र होइन, निर्यात पनि झन्डै तीन गुणा बढेको हो ।

गत वर्ष जिल्लाका तीन सहकारी संस्था राईनास–५ स्थित जनविकास सहकारी, राईनास–६ स्थित धमिलिकुवा दुग्ध विकास कृषि सहकारी र मध्यनेपाल–६ स्थित एकीकृत कृषि सहकारी मार्फत मात्र ६ लाख ४४ हजार आठ सय १८ लिटर दूध संकलन भएको केन्द्रको तथ्यांक छ ।

यस मध्ये चार लाख ५८ हजार नौ सय ४८ लिटर दुधमा प्रतिलिटर पाँच रुपैयाँ दरले २२ लाख ९४ हजार सात सय ४० रुपैयाँ, र एक लाख ८५ हजार आठ सय ७० लिटरमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसाका दरले चार लाख ५५ हजार तिन सय ८१ रुपैयाँ अनुदान वितरण गरिएको हो । यसरी कुल २७ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम एक सय ६० भन्दा बढी किसानका हातमा पुगेको छ ।

सहकारीमार्फत दैनिक औसत दुई हजार चार सय प५० लिटर दूध संकलन हुने गरेकोमा, निजी स्तरमा थप पाँच सय ५० लिटर दूध उत्पादन भई अहिले दैनिक तिन हजार  लिटर दूध जिल्ला बाहिर पठाइन्छ ।

जिल्लामा उत्पादित दूधको ठूलो हिस्सा अनौपचारिक रुपमा बिक्री हुने गरेको छ । घुम्ती गोठका उत्पादकले घरेलु प्रशोधन गरेर घिउ बिक्री गर्ने प्रचलन छ । तर, दूध प्रशोधन तथा प्याकेजिङ उद्योगको अभावमा बाँकी दूध बाहिर निर्यात गर्नुपरेको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसले किसानलाई थप व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने केन्द्रको अपेक्षा छ ।