लमजुङ।
राईनास नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय स्थल सर्वोदय धर्मनाथ धाममा साउने सोमबारका अवसरमा आयोजित बोलबम मेलाबाट करिब दुई लाख रुपैयाँ भेटी संकलन भएको छ ।
आश्रमका प्रचारप्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रका अनुसार साउन महिनाको पहिलो सोमबार ५ गतेदेखि अन्तिम सोमबार २६ गतेसम्म चारवटा सोमबार बोलबम मेला आयोजना गरिएको थियो । यस अवधिमा दानपेटिका र नगद रसिदमार्फत दुई लाख ९३ हजार सात सय २५ रुपैयाँ संकलन भएको हो ।
आश्रमका अध्यक्ष तथा धामका परिकल्पनाकार कृष्णराज ओलीका अनुसार मेलाको आयोजना तथा व्यवस्थापनमा ९५ हजार ४५ रुपैयाँ खर्च भएको र बाँकी १ लाख ९८ हजार ६ सय ८० रुपैयाँ बचत भएको छ ।
मेलाको पहिलो सोमबार बोलबम राष्ट्रिय समितिको नेतृत्वमा भक्तजनहरुको उल्लेखनीय उपस्थिती थियो । गोर्खा, तनहुँ, स्याङ्जा, काठमाडौं, चितवन, पोखरा लगायतका बाह्य जिल्लासहित विभिन्न पालिकाबाट करिब सात हजार भक्तजन मेलामा सहभागी भएका थिए । प्रत्येक सोमबार स्थानीय भक्तजनको पनि उल्लेख्य भीड देखिएको थियो ।
मेलामा भजन–कीर्तन, कथा वाचन, धार्मिक अनुष्ठानलगायतका कार्यक्रम सञ्चालन गरिएको सर्वोदय सेवाश्रमका उपाध्यक्ष सुकदेव रिसालले जानकारी दिए। मेलाबाट प्राप्त भेटी तथा बचत रकम सर्वोदय सेवाश्रमको व्यवस्थापन र आश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिकको भोजनमा खर्च गरिने आश्रमले जनाएको छ।











प्रतिक्रिया