मुगु।
छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले १७ औँ बजेट सभामा कुनै पनि एजेण्डा छलफल नगराई एक लौटी छलकपट, जालझेल गरेर सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षहरुले अनिश्चितकालका लागि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को १७ औँ बजेट सभा विभिन्न विषयमा निर्णय गर्दा सभाका अध्यक्ष विष्णुकुमार भामले सभामा कुनै पनि ऐजेन्डा प्रस्तुत र छलफल नगराई छलकपट गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले बुधबार नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
१४ वडाध्यक्षमध्ये ३ जना जिल्ला बाहिर भएका र नगरमा रहेका ११ जना वडाध्यक्षहरुले मेयरले स्थानीय सरकार सभा संचालन कार्यविधि २०७४ को परिच्छेद ५ को दफा ३ बमोजिम गरिने कार्यलाई ब्यवस्था नगरी उक्त कार्यविधि विपरीत मेयर भामले ऐजेण्डा प्रस्तुत र छलफल नगराएको भन्दै अनिश्तितकालका लागि नगरपालिका तालाबन्दी गरेको ११ जना वडाध्यक्षहरूले निर्णय गरेका छन् ।
छायाँनाथ रारा नगरपालिका— २ नम्बर वडा कार्यालयमा जम्मा भएका ११ जना वडाध्यक्षहरुले नगरपालिकाबाट अन्य पालिकामा सरुवा भई जाने वडा सचिवहरुले वडा कार्यालयको सरुवा आर्थिक तथा भौतिक गतिविधि बरबजुवात नगराई मिलोमतोमा उनीहरुलाई रमाना पत्र दिएकाले आर्थिक वर्ष हुँदा सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले यसको जिम्मेवारी स्वयम् नगरपालिका हुनु पर्ने र वडाको दैनिक कामकाज सञ्चालनका लागि तत्काल करार कर्मचारीको ब्यवस्था गर्नु पर्ने वडा २ का वडाध्यक्ष परेकराज चौलागाईले बताए ।
स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीय तह र वडाहरुका लागि तोकेको दरवन्धी बाहेकका अन्य करारमा रहेका कर्मचारीहरुलाई आर्थिक वर्ष ०८२।०८३ देखि म्याद थप नगर्न दिएको निर्देशनअनुसार नगरपालिकाले त्यस्ता करार कर्मचारीहरुललाई म्याद थप नगरिदिएको झ्वाँकमा वडाध्यक्षहरुले यस्तो निर्णय गरेका हुन् । आफूले कार्यविधि विपरीत कुनै खाले त्यस्ता निर्णय नगरेको मेयर भामले जिकिर गरे ।











प्रतिक्रिया