काठमाडौं ।
नेपाल प्रहरी अस्पतालमा कार्यरत एक चिकित्सकले प्रहरीको फौजी पोशाकमै निजी कलेजको प्रचार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि कारबाहीको तयारी गरेको छ।बल्खुस्थित नेपाल वर्नहाट कलेज को प्रचारसम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त चिकित्सकलाई प्रष्टिकरण सोध्ने तयारी गरिएको हो।
नेपाल प्रहरी अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) डा. अर्जुन प्रसाद डुम्रेमाथि प्रहरी आचरणविपरीत गतिविधि गरेको आरोप लागेको छ। प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले कुनै पनि प्रहरी कर्मचारीले तोकिएको जिम्मेवारीभन्दा बाहिर गएर गतिविधि गर्न नपाउने स्पष्ट गर्दै, “डा.डुम्रेको विषयमा अनुसन्धान भइरहेको छ,” भन्नुभयो।
भिडियोमा डा.डुम्रेले आफू पनि सोही कलेजबाट अध्ययन गरेको र उक्त कलेज निकै राम्रो भएकाले विद्यार्थीलाई त्यहाँ भर्ना हुन आग्रह गरेको देखिन्छ। कलेजले पनि उक्त भिडियो आफ्ना सामाजिक सञ्जाल पेजमार्फत पोष्ट गरी विद्यार्थी आकर्षित गर्ने प्रयास गरेको छ।
प्रहरीको युनिफर्ममै आफ्नो पदीय मर्यादा बिर्सेर निजी संस्थाको प्रचार गरेको भन्दै प्रधान कार्यालयले डा. डुम्रेमाथि अनुशासनात्मक कारबाही गर्ने तयारी गरेको हो।











प्रतिक्रिया