नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने


काठमाडौं ।

नेपाल र चीनबीचको पाँचौं संस्करणको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ संयुक्त सैन्य अभ्यास आगामी भदौ २२ गतेदेखि असोज ६ गतेसम्म नेपालमा हुने भएको छ । यसअघि सन् २०१७ देखि शुरू भएको यो अभ्यास पछिल्ला वर्षहरूमा दुवै देशमा हुँदै आएको छ ।

नेपालले विभिन्न मित्रराष्ट्रसँग सैन्य सम्बन्ध सुदृढ पार्ने उद्देश्यले यस्तो अभ्यास गर्दै आएको छ । यसपटक हुने अभ्यासमा विपद् व्यवस्थापन, मानवीय सहायता, संयुक्त राष्ट्रसंघ शान्ति मिसन, प्रतिआतंकवाद तथा प्रतिविद्रोहसम्बन्धी विषयमा अनुभव आदान–प्रदान गरिनेछ । हालसम्म नेपालतर्फबाट ७२ जना सैन्य अधिकारीले यस अभ्यासमा भाग लिइसकेका छन् ।

यस्तो अभ्यास नेपालका लागि केवल सैन्य क्षमता अभिवृद्धिको अवसरमात्र नभई कूटनीतिक दृष्टिले पनि संवेदनशील विषय बन्दै आएको छ । भारतले सकेसम्म नेपालले चीनसँग यस्तो अभ्यास नगरोस् भन्ने अपेक्षा राख्ने गरेको छ भने चीनले पनि नेपालले भारतसँग संयुक्त सैन्य अभ्यास नगरोस् भन्ने धारणा राख्दै आएको पाइन्छ ।

नेपालले भारतसँग पनि ‘एक्सरसाइज सूर्य किरण’ नामक बटालियन–स्तरको संयुक्त सैन्य अभ्यास सन् २०११ देखि गर्दै आएको छ । वर्षेनी एकपटक हुने यो अभ्यास यसपटक भारतको पिथौरागढमा आउँदो मंसिरको तेस्रो हप्तादेखि शुरू हुने भएको छ । अहिलेसम्मको अभ्यासमा नेपालतर्फबाट ३ हजार ८ सय ८१ र भारततर्फबाट ४ हजार ४ सय ४२ जना सहभागी भइसकेका छन् ।
नेपाल र अमेरिकाबीच पनि दुई दशकदेखि विभिन्न संयुक्त सैन्य अभ्यास हुँदै आएका छन् । सन् २००३ देखि शुरू भएको ‘एक्सरसाइज ब्यालेन्स नाइल’ मा नेपालतर्फबाट ३ हजार ५ सय २५ र अमेरिकातर्फबाट ३ सय ८८ जना सहभागी भइसकेका छन् ।

त्यस्तै, सन् २०१२ देखि ‘एक्सरसाइज प्यासिफिक एङ्गल’ पनि नियमित रूपमा हुँदै आएको छ ।
सैन्य अभ्यासलाई नेपालले आफ्नो आन्तरिक क्षमता विकास, अन्तर्राष्ट्रिय दायित्व निर्वाह र मित्रराष्ट्रहरूसँगको सम्बन्ध मजबुत बनाउन सहयोगी अवसरको रूपमा लिँदै आएको छ