–कर्मचारीको विरोध
–पहिला तल्लो तहमा, त्यसपछि माथिल्लो तहमा सरुवा गर्न दबाब
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वीकयसचिव भूपदेव शाहले कर्मचारी सरुवा गर्न चलखेल शुरू गर्नुभएको छ । उहाँले महानगरको रिक्त रहेको ३ विभाग र एक आयोजनालगायत विभिन्न विभाग, महाशाखा र शाखामा आफू निकट कर्मचारी सरुवा गर्न दबाब दिन थाल्नुभएको छ । कामपा उच्चस्रोतका अनुसार स्वकीय सचिव शाहले विभिन्न कर्मचारी प्रयोग गरी सरुवा लिस्ट तयार गरेको बुझिएको छ ।
हाल कामपामा कानुन, सहकारी र शिक्षा विभाग, चमती र मनोहरा जग्गा एकीकरण आयोजना प्रमुख पद रिक्त छ । ती विभाग र दुई आयोगनामा आफूले भनेको मान्ने उच्चतहका कर्मचारीलाई सरुवा गर्ने कसरत भइरहेको छ । मेयर साहले स्वीकय सचिव शाहलाई आग्रह गर्ने र शाहले प्र्रशासन र प्रमुख प्र्रशासकीय अधिकृतको सचिवालयमा दबाब दिने गरेका छन् । ती विभाग र आयोजना निमित्तको भरमा चलिरहेका छन् ।
स्वकीय सचिव शाहले केही दिनपछि अनिवार्य अवकास हुन लाग्नुभएका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यलाई सेटल गर्ने गरी अवकासलगत्तै सहरी योजना आयोगमा ल्याउने गरी तयारी भइरहेको स्रोतको दाबी छ । शुरूमा तल्लो र त्यसपछि माथिल्लो तहका कर्मचारी सरुवा गर्न विभिन्न निकायमा दबाब दिएको स्रोतले भन्यो । मेयर साहको सचिवालय व्यवस्थापन गर्ने जिम्मा पाएका शाहले यसअघि मेयरको नाममा आएको पत्रमा आफूले तोक लगाएर नगर प्रहरी बललाई आदेश दिने गर्नुभएको थियो ।
सो विषयमा विभिन्न निकायमा उजुरी परेको छ । अहिलेपछि कर्मचारी सरुवामा चलखेल जारी राखेका शाहले प्रशासन विभाग र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयलाई दबाब दिइरहनुभएको छ । केही उच्च तहका कर्मचारीहरू आफूलाई राम्रो विभागमा सरुवा गर्न शाहसँग पुगिसकेका छन् । तल्लो तहका कर्मचारी भने अवस्था हेरेर विरोध गर्ने तयारी गरेका छन् ।
मेयर साह केही बोल्नुहुन्न तर उहाँकै आदेशमा स्वकीय सचिव शाहले कर्मचारी सरुवा गर्ने लिस्ट तयार गर्नुभएको छ । उच्च स्रोतका अनुसार सरुवा गर्नुअघि प्रमुख प्रशासकीय अधिकृतले सरोकारवालासँग परामर्श गर्ने तयारी गरेका छन् । सो विषयमा जानकारी लिन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग सम्पर्क गर्दा मोबाइल उठाउनुभएन । सरुवा गर्ने विषयमा मेयर सचिवालयमा कार्यरत सुदीप ढकालले समेत चासो लिएर लिस्ट तयार गर्ने गरेको बुझिएको छ ।
एक महिनाअघि अपमानजनक रूपमा हटाइएका सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीलाई राजीनामा लेख्न पटकपटक दबाब दिएका ढकालले बजेट निर्माण र सरुवामा चलखेल गरेको कर्मचारीको आरोप छ । स्रोत भन्छ– ‘पछिल्लो समय शाह र ढकालको बढी बोलवाला देखिएको छ । आयोग उपाध्यक्ष राजभण्डारीलाई हटाएपछि आयोगमा समेत कसलाई नियुक्ति गर्ने भन्ने विषयमा ढकाल र शाहले चलखेल गरिहेका छन् ।
यसैबीच आयोगका उपाध्यक्ष राजभण्डारीले हिजो बुधबारसम्म पनि राजीनामापत्र बुझ्नुभएको छैन । मेयर साहले उपाध्यक्ष राजभण्डारीको मनोनयन खारेज गरेको पत्र १८ गते नै तयार गरी सबै विभाग र सम्बन्धित निकायमा जानकारी गराइसकेको छ । तर, हालसम्म बुझ्नुभएको छैन । ‘राजीनामा नदिइकनै कसरी मनोनयन खारेज हुन्छ ?’ राजभण्डारीले नेपाल समाचारपत्रसँग भन्नुभयो । एउटा नगर प्रहरीले पब लिन बोलाएर थप अपमानित गरेको महसुस गर्दै राजभण्डारीले पत्र नबुझ्नुभएको उहाँ निकट स्रोतले भन्यो ।
सम्भवतः आज पत्र बुझेर त्यसपछि के गर्ने ? भन्ने निर्णय गर्ने तयारीमा उपाध्यक्ष छन्–स्रोतले भन्यो । महानगरको गौरवको योजनामा समेटिएका कामको नियमित अनुगमनमा खटिएका उपाध्यक्ष राजभण्डारीलाई अनुगमन नगर्न दबाब आएको थियो ।
अनुगमनलाई निरन्तरता दिएको कारण मेयरको निर्देशनमा मनोनयन फिर्ता पत्र लिन मेयर सचिवालले प्रहरीलाई समेत परिचालन गरेको थियो । राजभण्डारीको मनोनयन फिर्तापत्र तयार भएको दिन साउन १८ गतेबाट महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले कोठामा ताला लगाउने निर्देशन दिनुभएको थियो ।











प्रतिक्रिया