काठमाडौं ।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागको उपमहानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइको खरिद प्रक्रियामा संलग्न भई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएर विवादमा परेका एक जना सहसचिवलाई अर्थ मन्त्रालयले फेरि आफ्नै मन्त्रालयमा ल्याएको छ ।
यसअघि अर्थ मन्त्रालयमा नै रहँदा अनियमिता गरेको आरोप लागेका र भ्रष्टाचारको मुद्दा खेपिरहेका सहसचिवलाई फेरि अर्थ मन्त्रालयमा नै ल्याएपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आलोचना भएको छ ।
हाल गण्डकी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका र भ्रष्टाचार मुद्दा खेपिरहेका सहसचिव टंकप्रसाद पाण्डेलाई बुधबारको सहसचिवको सरुवामा पुनः अर्थ मन्त्रालय ल्याइएपछि अर्थमन्त्री पौडेलमाथि प्रश्न चिह्न सिर्जना भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइको खरिद प्रक्रियामा ३८ करोड ६७ लाख रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक रहेका पाण्डेसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यद्यपि, पछि विशेष अदालतले पाण्डेलगायत केहीलाई सफाइ दिएपछि विशेषको सो फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत गएको थियो । हाल सो मुद्दा सर्वोच्चमा विचाराधीन रहेको र सहसचिव पाण्डेले भ्रष्टाचार मुद्दा खेपिरहेकै अवस्थामा अर्थ मन्त्रालयजस्तो संवेदनशील निकायमा ल्याइनुले अर्थ मन्त्रालयको सुशासन कायम गरी राजस्व संकलन वृद्धि गर्ने प्रतिवद्धतामा गम्भीर प्रश्न सिर्जना भएको हो ।
अर्थ मन्त्रालयमा स्वच्छ छवि र विवादमा नपरेका कर्मचारीहरू राख्न सुझाव आइरहेको अवस्थामा त्यस्तो सुझावलाई खिल्ली उडाउँदै मन्त्रालयले विवादास्पद र भ्रष्टाचारमा मुद्दा खेपिरहेका सहसचिव पाण्डेलाई भित्र्याउनुमा ठूलै चलखेल भएको हुन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार आईटी क्षेत्रका ठूला माफियाको रूपमा रहेका र कैयांै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कारागार जीवन बिताइरहेका विकल पौडेल र सुनील पौडेल समूहले त्यति बेला पाण्डेलगायतलाई परिचालन गरेका थिए ।











प्रतिक्रिया