सिओल ।
दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई अदालतको आदेशपछि गिरफ्तार गरिएको छ। शेयर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको गम्भीर आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। किमले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेकी छिन्।
यो गिरफ्तारी गत महिना उनका श्रीमान् र पूर्वराष्ट्रपति यून सुक यउललाई पुनः पक्राउ गरिएको पृष्ठभूमिमा भएको हो। यससँगै, उनीहरू देशको इतिहासमा पहिलोपटक एकै साथ जेलमा रहेका पूर्वराष्ट्रपति दम्पती बनेका छन्।
पूर्वराष्ट्रपति यउललाई गत वर्ष असफल मार्शल कानुन लागू गर्न खोजेको, राजनीतिक उथलपुथल निम्त्याएको, र आफ्नै दलका शीर्ष नेताहरूलाई गिरफ्तार गर्न आदेश दिएको आरोपमा संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदच्युत गरेको थियो। उनी सत्ताच्युत भएपछि गत महिना पुनः गिरफ्तार भएका थिए।
दक्षिण कोरियाको राजनीतिक वृत्तमा यी घटनाहरूले ठूलो हलचल ल्याएको छ। विश्लेषकहरूका अनुसार, देशमा भ्रष्टाचार, सत्ताको दुरुपयोग र राजनीतिक प्रतिशोधको लहर बढ्दै गएको छ, जसले लोकतान्त्रिक प्रणालीप्रति जनविश्वासमा गहिरो असर पारेको छ।











प्रतिक्रिया