काठमाडौं।
विज्ञहरूले सावधान गराउँदै आगामी तीन महिना अर्थात् कात्तिकसम्म नेपालमा जापनिज इन्सेफलाइटिस (जेआई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण उच्च हुने सम्भावना औँल्याएका छन्। । संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको समयमै पहिचान र उपचार नगरेमा मस्तिष्क सुन्निने, पक्षघात, कोमामा जाने र मृत्यु हुनेसम्मको अवस्था आउन सक्ने बताइयो । यस रोगको मृत्यु दर करिब ३० प्रतिशतसम्म रहने विज्ञहरूको भनाई छ ।
यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाल र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा काठमाडौंमा आयोजित स्वास्थ्य पत्रकार अभिमुखीकरण कार्यक्रममा दिइएको हो । चौथो श्रृङ्खलामा आयोजित उक्त कार्यक्रममा डब्लुएचओ सर्भिलेन्स अफिसर डा. सोनिया भगतले जापनिज इन्सेफलाइटिसको कारण, लक्षण, जोखिमयुक्त क्षेत्र र रोकथामका उपायबारे विस्तृत जानकारी दिए ।

डा. भगतका अनुसार यो रोग धानखेतमा हुने लामखुट्टेले टोक्छ । संक्रमित सुँगुर, बंगुर, हाँस, बकुल्ला घोडा वा जंगली चरालाई टोक्दा भाइरस बोकेको हुन्छ र त्यसपश्चात मानिसलाई टोक्दा संक्रमण फैलिन्छ । मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन । क्युलेक्स जातको खैरो र लामो खुट्टा भएको लामखुट्टे साँझपख र झिसमिसे बिहान बढी सक्रिय हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्छ ।
धानखेत, पानी जमेको क्षेत्र, तथा सुँगुर वा हाँसको फर्म नजिकका बस्तीहरू बढी जोखिमयुक्त हुने बताइएको छ । यो रोगको इन्कुबेसन अवधि ४ देखि १४ दिनको हुन्छ र कुल संक्रमितमध्ये करिब ७५ प्रतिशत बालबालिका हुने तथ्याङ्क रहेको छ ।
लक्षण र पहिचान
सामान्य लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी वा बान्ता, कमजोरी महसुस हुन्छ । गम्भीर अवस्थामा भने उच्च ज्वरो (१०२ डिग्री फरेनहाइटभन्दा बढी), शरीरमा कम्पन, अर्ध चेत वा बेहोस हुनु, पक्षघात, वा कोमा पुग्नेसम्मको अवस्था देखापर्छ । कुनै समुदायमा एक जना गम्भीर संक्रमित भेटिएमा वरपरका करिब २५० जनामा संक्रमण भएको हुनसक्ने आँकलन गरिएको छ।

नेपालमा स्थिति र तथ्याङ्क
डब्लुएचओका अनुसार सन् २०२५ मा हालसम्म नेपालमा ३४ जनामा जापनिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ, जसमा मोरङमा १७ बर्ष, कानेपोखरीमा ४९ बर्ष र बारामा ७४ बर्षका गरी ३ जनाको मृत्यु भएको छ । मृतक सबै १५ वर्षमाथिका व्यक्तिहरू थिए । साउनदेखि कात्तिक महिना यो रोगको उच्च जोखिमको समय मानिन्छ । यो रोग नियन्त्रणका लागि नयाँ गाईडलाईन बनाएको पनि जानकारी गराईयो ।
सरकारी पहल र खोप कार्यक्रम
नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत शिशु जन्मेको १२ महिनामा जेई विरुद्धको खोप दिइरहेको छ । १२ महिनामा छुटेका बालबालिकालाई ५ वर्षसम्म निःशुल्क खोप उपलब्ध छ । तर वयस्क र प्रौड उमेरका लागि भने सरकारी खोप कार्यक्रम छैन, निजी स्वास्थ्य संस्थाबाट शुल्क तिरेर मात्र खोप लिन सकिन्छ ।
रोकथामका उपायहरू
डा. भगतका अनुसार लामखुट्टेको टोकाइबाट जोगिन घर वरपरको पानी जम्ने ठाउँ सफा राख्नु, झाडी काट्नु, सुँगुर वा हाँसको फर्म नजिक बस्न नहुने, शरीर ढाक्ने कपडा लगाउने, झुलको प्रयोग गर्ने, र लामखुट्टे भगाउने धुप वा अन्य उपाय अपनाउन आवश्यक छ ।
बालबालिकालाई सरकारले प्रदान गर्ने जेई खोप लगाउनु प्रभावकारी उपाय हो । वयस्कले पनि सम्भव भएसम्म खोप लगाउने सुझाव दिइएको छ।
कार्यक्रममा डब्लुएचओ नेपालका इमुनाइजेसन प्रिभेन्टेवल डिजिजेज (आईपीडिी) टिम लिडर डा. बलविन्दर सिंह चावलाले जनचेतनाको अभावले रोकथाम गर्न सकिने रोग अझै फैलिरहेको भन्दै यसमा स्वास्थ्य पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले पत्रकारहरूको प्राविधिक क्षमता वृद्धि र जनस्वास्थ्य सन्देशलाई सही तरिकाले जनतासम्म पुर्याउन डब्लुएचओसँगको सहकार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रमको सहजीकरण डब्लुएचओकी नेशनल मिडिया एन्ड कम्युनिकेशन अफिसर छिरिङ गुरुङले गरेकी थिइन् ।











प्रतिक्रिया