धनगढी
राष्ट्रिय गौरबको योजनाको रुपमा रहेको कैलाली कञ्चनपुर जिल्लामा पर्ने करिब १२८ किलोमिटर हुलाकी राजमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हुलाकी सडक योजना कार्यालय धनगढीले दिएको जानकारी अनुसार हुलाकी राजमार्गको हालसम्म करिब ८३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकी १७ प्रतिशत काम यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखेको हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी गणेश बुढाले जानकारी दिए ।
उक्त सडकको निर्माण कार्य आर्थिक वर्ष २०७३-२०७४ देखि कञ्चनपुर जिल्लाबाट सुरु गरिएको थियो । कैलाली र कञ्चनपुर जिल्ला अन्तरगत रहेको उक्त हुलाकी सडकलाई दुई भागमा विभाजन गरेर काम सुरु गरिएको थियो । कैलाली जिल्लामा ६६ किलोमिटर र कञ्चनपुर जिल्लामा ६२ किलोमिटर गरि जम्मा १२८ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण शुभारम्भ एको थियो । कैलाली जिल्लातर्फको काम भने आर्थिक वर्ष २०७६÷०७७ देखि सुरु गरिएको थियो ।
कैलाली कञ्चनपुरमा पर्ने १२८ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि नेपाल सरकारले २ अर्ब ५४ करोड ८८ लाख ३२ हजार ०७४ रुपैंयामा विभिन्न निर्माण कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नभएपछि सरकारले विभिन्न समयमा निर्माण कम्पनीलाई म्याद थप गर्दै कार्य अघि बढाएको थियो । यस राजमार्गको निर्माण सम्पन्नका लागि अन्तिम पटक आर्थिक वर्ष २०८२ चैत ३० गते सम्मलाई म्याद थप गरेको छ । कैलालीको कान्द्रादेखि सत्ती सम्मको हुलाकी सडक निर्माणकालागि यसै आर्थिक वर्षको चैत ३० गते सम्मको म्याद थपेको हो । कैलाली जिल्ला अन्तरगतको ६६ किलोमिटर मध्ये १० किलो मिटर मात्र बाँकी रहेको छ । ६६ किलोमिटरलाई पनि चार भागमा विभाजन गरेर काम गरेको सूचना अधिकारी बुढाले जानकारी दिए ।
धनगढीको क्याम्पस चौकदेखि बेली पुलसम्म, बेली पुलदेखि फुलवारी पच्चिसघरसम्म, बसन्ताको जंगलदेखि लालबोझीको कान्द्रा पुलसम्मको निर्माण सम्पन्न भई हस्तान्त्रणको तयारीमा रहेको छ । फुलवारी देखि बसन्ता जंगलसम्मको ७८ प्रतिशत र कान्द्रादेखि सत्ति सम्मको ४० प्रतिशत काम भएको छ । बाँकी निर्माणको काम यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ । धनगढीदेखि कान्द्रा सम्मको काम स्वच्छन्द जोशी जेभिले गरेको छ भने कान्द्रादेखि सत्ती सम्म कालिका जोशी जेभिले गरिरहेको छ । वर्षातका कारण निर्माणको काम प्रभावित भएका र वर्षात रोकिनेवित्तिकै निर्माणको कामले गति लिने निर्माण कम्पनीले जनाएकाछन् ।
यस्तै कञ्चनपुर जिल्ला तर्फ निर्माण भएको हुलाकी राजमार्गको काम पनि अघि बढेको छ जिल्लाको डोकेबजार देखि बेलौरी सम्मको निर्माण कार्य सम्पन्न भइसकेको छ । यो सडक हस्तान्त्रणको तयारीमा छ । शर्मा राजेन्द्र जेभिले निर्माण गरेको थियो । बेलौरी देखि बेलडाँडी सम्मको २० किलो मिटर सकडको करिब ८२ प्रतिशत काम सकिएको हुलाकी सडक योजनाका धनगढीका इन्जिनियर प्रमोद चौधरीले जानकारी दिए । २०८२ कार्ति २५ गते सम्मकोलागि म्याद थप गरिएको छ । हुलाकी सडकको सो क्षेत्रको निर्माण काठमाण्डौको बाबा हंश सिद्धिशाही जेभिले गरिरहेको छ । बेलडाँडीदेखि दैजी सम्मको २२ किलोमिटर सडक निर्माणको काम भइरहेको छ । यस अन्तरगतको १३ किलोमिटर सडक निर्माण भइसकेको छ भन बाँकी ९ किलोमिटर सडकको निर्माण कार्य जारी छ । उक्त सडकको निर्माण शर्मा राजेन्द्र जेभिले गरिरहेको छ ।
हुलाकी सडक निर्माण सम्पन्न भएपछि कैलाली कञ्चनपुरका दक्षिण क्षेत्रका बासिन्दाहरुले सहजरुपमा आवत जावत गर्ने छन् । विगतमा कच्ची सडकका कारण सो क्षेत्रको जनजीवन निकै प्रभावित हुने गरेको थियो तर आजभोली कैलाली कञ्चनपुरको दक्षिण क्षेत्रका जनताले निकै राहत महसुस गरेको कञ्चनपुरको बेलौरीका यज्ञ कँडेलले बताए । हुलाकी राजमार्गको लम्बाई पूर्व झापाको काकरभिटादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको करिब १७९२ किलोमिटर रहेको छ ।











प्रतिक्रिया