काठमाडौं।
इजरायली सेनाद्वारा गाजामा समाचार संकलनका लागि गएका अलजजिराका पत्रकारलाई गोली हानी हत्या गरिएपछि विश्वभर तीव्र निन्दा भइरहेको छ ।
गाजा सहरको सिफा अस्पतालअगाडि सञ्चारकर्मीका लागि राखिएको मिडिया टेन्टमा इजरायली हवाई आक्रमणमा अलजजिराका पाँच पत्रकार मारिएका छन् । यसमा प्रमुख फ्रन्टलाइन रिपोर्टर अनस अल–सरिफ र मोहम्मद क्रैइक, इब्राहिम जाहेर, मोआमन अलिवा र मोहम्मद नुफल रहेका थिए । उक्त आक्रमणको लागि इजरायली सेनाले जिम्मेवारी लिएको थियो र सरिफलाई हमासको सदस्य भएको आरोप लगाएको थियो जुन मानवअधिकार तथा पत्रकारिताको स्वतन्त्रता अधिकारसम्बन्धी सदस्यहरूले ठाडै अस्वीकार गरेका छन् ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) को तथ्यांकअनुसार अक्टोबर ७, २०२३ देखि हालसम्म यस द्वन्द्वमा कम्तीमा १ सय ८६ पत्रकार र मिडियामा कार्यरत कर्मचारीको मृत्यु भएको छ । त्यसमा अधिकांश इजरायली सेनाले पत्रकारलाई हमासलाई सघाएको आरोप लगाउँदै हत्या गर्दै आएको छ ।
सीपीजेका अनुसार कम्तीमा १७ पत्रकारलाई इजरायलले विशेष रूपमा लक्षित गरेर हत्या गरेको जनाएको छ । जसमा इस्माइल अल घोल, रामी अल रेफ्री, होसम सावत नुफोट्सफ रहेका छन् ।
विशेष गरी होस्साम सबात, अलजाजिराको संवाददाता गत मार्च २४ मा गाजामा लक्षित हवाई हमलामार्फत मारिएका थिए । यसको जिम्मेवारी इजरायली सेनाले लिएको थियो । उनलाई हमासको कार्यकर्ता भएको आरोप लगाएको भए पनि अहिलेसम्म उक्त आरोप पुष्टि भएको छैन ।
इजरायली सेनाद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पत्रकारहरूलाई लक्षित गरेर मार्ने घटनाले प्रेस स्वतन्त्रता र मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय समाजमा आक्रोश बढ्दै गएको छ । प्रेस स्वतन्त्रताको रक्षा र जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा उभ्याउन माग गर्दै मानवअधिकार र पत्रकार संघसंस्थाहरूले आवाज उठाइरहेका छन् ।











प्रतिक्रिया