हलेसीमा चार सोमबारमा चालिस हजार तीर्थालु

1.69k
Shares

खोटाङ

 खोटाङस्थित त्रीधार्मिकस्थल हलेसीमा साउनको चार वटा सोमबारभित्र करिब ४० हजार तीर्थालु भक्तजनहरुले दर्शन गरेका छन् । बिश्वप्रशिद्द हलेसीमा बोलबमको अवसर पारेर देश तथा विदेशका तीर्थालु भक्तजनहरुले दर्शन गरेका हुन् ।

साउनको अन्य सोमबारको तुलनामा अन्तिम सोमबार कम दर्शनार्थी आएको हलेसी तुवाचुङ नगरपालिकाका प्रबक्ता कमल गिरीले बताए । गिरीका अनुसार पहिलो सोमबार १२ हजार ८ सय ४०, दोस्रो सोमबार १४ हजार ७ सय ६४, तेश्रो सोमबार नौं हजार ५ सय २२ र अन्तिम सोमबार दुई हजार ७ सय ३० जना तीर्थालु भक्तजनहरुले दर्शन गरेका हुन् । यद्यपी, लगातारको वर्षाका कारण पहिरो गई मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्ड अवरुद्ध हुँदा अन्तिम सोमबारका दर्शनार्थी बाटैमा अलपत्र परेका थिए ।  सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालु समेत बीच सडकमै अलपत्र परेका हुन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।

साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा हलेसी क्षेत्रको च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको प्रवक्ता गिरीले जनाएका छन् । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण सोमबार बिहान करिब साँडे ८ बजे च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिना दिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चिन, भुटान लगायतका नागरिक समेत आउने गरेका छन् । सडकको पहुँच बिस्तार भएसँगै यो हलेसी दर्शनार्थी बढ्दो रहेको छ । गत बर्ष ७ लाख भक्तजनले हलेसी दर्शन गरेकोमा यो बर्ष वृद्धि हुने अनुमान गरिएको जनाइएको छ ।