भारतमा विपक्षी नेता राहुल गान्धी पक्राउ


दिल्ली ।

भारतको लोकसभामा प्रमुख विपक्षी दलका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले सोमबार पक्राउ गरी हिरासतमा राखेको छ। मतदाता नामावलीमा व्यापक हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग घेराउ गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा विपक्षी दलहरूले “लाखौँ मतदाता नामावली हटाइएको” भन्दै विरोध प्रदर्शन गरिरहेका थिए। प्रदर्शनको नेतृत्व गर्दै गान्धीले आयोग अगाडि पुगेर धर्ना दिने कार्यक्रमका क्रममा मार्चपास सुरु गरेका थिए। त्यसै क्रममा प्रहरीले आयोग परिसरतर्फको र्‍यालीलाई रोकेर गान्धीसहित केही सांसदलाई पक्राउ गरेको हो।

मार्चपासअघि गान्धीको नेतृत्वमा विपक्षी सांसदहरू संसद भवन बाहिर धर्नामा बसेका थिए। सो अवसरमा कांग्रेस महासचिव प्रियंका गान्धी, समाजवादी पार्टी नेतृ डिम्पल यादव, तृणमूल कांग्रेस नेतृ महुजा मोइत्रा, शिवसेना सांसद सञ्जय राउतलगायतका नेताहरू पनि उपस्थित थिए।

विपक्षी दलहरूले निर्वाचन आयोगलाई मतदाता नामावलीमा हेरफेर गरेर लोकतान्त्रिक प्रक्रियामाथि प्रहार गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार हालै प्रकाशित नामावलीमा लाखौँ वास्तविक मतदाता हटाइएका र विभिन्न क्षेत्रमा काल्पनिक नाम थपिएका छन्।

पक्राउ परेका नेताहरूमध्ये केहीलाई प्रहरीले अस्थायी हिरासतमा राखेर बेलुकीसम्ममा रिहा गर्ने तयारी गरेको बताइएको छ। तर, कांग्रेस नेताहरूले यो कदमलाई “लोकतन्त्र दबाउने प्रयास” भन्दै तीव्र विरोध जनाएका छन्।

यस घटनापछि भारतीय राजनीतिमा फेरि एकपटक सत्ता र विपक्षबीचको टकराव तीव्र हुने संकेत देखिएको छ।