काठमाडौं।
एएफसी यू–२० महिला एसियन कप छनोटको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ठूलो अन्तरले पराजित भएको छ। आइतबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न खेलमा साविक विजेता उत्तर कोरियाले नेपालमाथि ११–० को जित हात पर्यो ।
उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै सहज जित दर्ता गर्यो। समूहका सबै तीन खेल जितेको उत्तर कोरियाले ९ अंक जोड्दै समूह विजेता बनेको छ र अर्को वर्ष थाइल्याण्डमा हुने अन्तिम चरणका लागि छनोट भएको छ। यो चरणमा उत्तर कोरियाले ३६ गोल गर्दा कुनै गोल खानु परेको छैन।
नेपालका लागि यो छनोटमा पहिलो हार हो। यसअघि नेपालले भुटानसँग १–१ को बराबरी खेलेको र साउदी अरेबियालाई १–० ले हराएको थियो। तीन खेलबाट ४ अंक मात्र जोड्न सकेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना सकिएको छ।
नियमअनुसार ८ समूहका विजेता सिधै अन्तिम चरणमा पुग्नेछन् भने उपविजेतामध्ये उत्कृष्ट तीन टोलीलाई पनि मौका मिल्नेछ। तर, अन्य पाँच समूहका दोस्रो स्थानका टिमले नै ६ अंक पाइसकेकाले नेपाल उत्कृष्ट दोस्रो बन्ने सम्भावनाबाट बाहिरिएको छ।











प्रतिक्रिया