कोलेस्ट्रोल : मौन समस्या

13.07k
Shares

नेपालमा प्रायः स्वास्थ्य जटिलता देखिएपछि मात्रै स्वास्थ्यसम्बन्धी समस्यालाई गम्भीरताका साथ लिइने प्रचलन छ । जीवनशैली, खानपान, सामाजिक संरचनाले पछिल्लो समयमा तीव्र गतिमा वृद्धि भएको स्वास्थ्य समस्या उच्च कोलेस्टेरोल पनि हो । कोलेस्ट्रोल भन्ने समस्या धेरैलाई लाग्छ, यो उमेर ढल्किसकेका वृद्ध व्यक्तिहरूलाई मात्र हुन्छ । तर, अहिलेको अवस्थामा यो धारणा पूर्ण रूपमा गलत सावित हुँदैछ । विशेष गरी नेपाली युवाहरू जो २० वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । उनीहरुमा उच्च कोलेस्ट्रोलको समस्या तीव्र रूपमा बढ्दै गएको पाइन्छ ।

युवा अवस्थामै यो समस्या हुनुको मुख्य कारण नेपाली युवाहरूको असन्तुलित जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र मानसिक तनाव हो । जसले गर्दा युवा अवस्थामा नै ह्दय घात, मस्तिष्क घात जस्ता स्वास्थ्य जटिलता आएको खबर हामीले हाम्रै परिवार, आफन्त र समाजमा देख्ने गरेका छौं । भविष्यमा हुनसक्ने स्वास्थ्य जटिलताबाट बच्न अहिलेदेखि नै सहजकता अपनाउनु जरुरी छ ।

उच्च कोलेस्ट्रोलका लक्षण

उच्च कोलेस्ट्रोलको सामान्यतया कुनै स्पष्ट लक्षण नदेखिन सक्छ, । किनकी यो समस्या अरुजस्तै शुरूमै थाहा नपाउन सकिन्छ । त्यसैले कतिपयले यसलाई ‵मौन रोगˊ पनि भन्ने गर्दछन् । तथापि, हिँड्दा सास फुल्नु, उच्च रक्तचाप, मधुमेह, पैताला दुख्नु, छातीमा दुखाइ ९एन्जाइना० हुनु, हातखुट्टा वा शरीरका विभिन्न भागहरू चिसो तथा सुन्निने अनुभव हुनु, अचानक कमजोरी महसुस गर्नु, बोली बिग्रिनु, टाउको दुख्नु, कपाल वा अनुहारको छालामा पहेँलो थोपाहरू देखिनु (यो दुर्लभ तर सम्भावित संकेत हो) । जस्ता समस्या देखिनु रगतमा कोलेस्ट्रोलको मात्रा बढेको संकेत दिन सक्छ ।

तर, यी लक्षण देखिनुअघि नै रगतमा कोलेस्ट्रोलको मात्रा बढी भइसकेको हुन्छ । यसबारे थाहा पाउन ब्लड टेस्ट अर्थात् लिपिड प्रोफाइल टेस्ट गर्नुपर्छ । यो जाँचपछि मात्र शरीरमा कोलेस्ट्रोलको मात्रा कति छ रु भनेर मापन गर्न सकिन्छ ।
उक्त जाँच गर्नका निम्ति सामान्यतया, ८ घण्टादेखि १२ घण्टाको अगाडिदेखि खाली पेट भएको अवस्थामा रगत जाँच गराउनुपर्छ । चिकित्सकको सल्लाह अनुसार नियमित जाँच गराउने ९विशेष गरी २० वर्षमाथिका युवा तथा पारिवारिक इतिहास भएका० ले यसको जाँच गराउनुपर्छ ।

कोलेस्ट्रोल के हो ?

कोलेस्ट्रोल मानव शरीरमा पाइने एक प्रकारको बोसो अर्थात् चिल्लो पदार्थ (लिपिड) हो । जुन शरीरका कोषहरू निर्माण, हर्मोन उत्पादन, पाचन प्रक्रिया र मस्तिष्कको कार्यका लागि अत्यावश्यक हुन्छ । तर, यसको मात्रा सन्तुलनमा रहनुपर्ने हुन्छ । यदि यसको मात्रा असामान्य रूपमा बढ्छ भने यो शरीरका लागि हानिकारक हुन्छ । कोलेस्ट्रोल दुई प्रकारको हुन्छ । एलडीएल (खराब कोलेस्ट्रोल) जसले रक्त नलीभित्र जमेर रक्त प्रवाहमा अवरोध ल्याउँछ र मुटुरोगको खतरा बढाउँछ ।

एचडीएल (राम्रो कोलेस्ट्रोल) जसले खराब कोलेस्ट्रोललाई सफा गरेर रक्त नलीलाई स्वस्थ राख्छ । अर्थात् अतिरिक्त कोलेस्ट्रोललाई लिएर कलेजोमा पुर्याएर धमनी सफा गर्छ । कोलेस्ट्रोलसँगै हाम्रो शरीरमा अर्को महत्वपूर्ण बोसो पदार्थ ट्राइग्लिसराइड्स (टीजी) पनि हुन्छ। यो पनि राम्रो र खराब गरी दुई प्रकारको हुन्छ । खराब फ्याट (सेचुरेटेड र ट्रान्स फ्याट)ले कोलेस्ट्रोल र टीजी दुवैलाई नकारात्मक असर गर्छ । टीजी नियन्त्रणका लागिका चिनी, प्रशोधित खानेकुरा र खराब फ्याट कम खाने । ओमेगा–३ फ्याटी एसिड (माछा, बदाम) बढी खाने गर्नुपर्छ ।

नेपाली युवामा उच्च कोलेस्ट्रोलको जोखिम

शहरीकरण र प्रविधिको विकाससँगै युवाहरूको दैनिक जीवनशैलीमा धेरै परिवर्तन आएको छ । नेपाली युवाहरूले फास्ट फुड, प्याकेट बन्द खाना, जंक फुड् चिप्स, चाउचाउ, मःमः सेकुवालगायतका बोसोयुक्त र तारेका खानेकुरा बढी सेवन गर्ने गरेका छन् । त्यस्तै चाडपर्व र पार्टीमा अत्यधिक मासुजन्य परिकार र मदिरा सेवन गर्ने चलनले पनि कोलेस्ट्रोल स्तर बढाउने काम गरेको छ ।
त्यस्तै अधिकांश युवाहरूको काम अब कम्प्युटर वा मोबाइलमा आधारित भएकाले शारीरिक गतिविधि कम भएको छ । लामो समय कुर्सीमा बस्नु, व्यायाम नगर्नु र शारीरिक सक्रियता कम हुनु पनि यसको मुख्य कारणमध्ये पर्छ । साथै काममा बढ्दो प्रतिस्पर्धा, कामको दबाब, अनिन्द्रा र मानसिक तनावले पनि कोलेस्ट्रोलमा नकारात्मक असर गर्छ । यसमा धुम्रपान र मदिरा सेवन पनि मिसिएपछि यसले रक्त नलीमा थप समस्या निम्त्याउँछ । र, कोलेस्ट्रोलको असन्तुलनलाई बढावा दिन्छन् ।

कोलेस्ट्रोल बढ्दा हुने खतरा

उच्च कोलेस्ट्रोलले रक्त नलीहरू साँघुरो पार्छ, जसले गर्दा मुटुमा रक्त प्रवाहमा अवरोध आउँछ । यसको परिणामस्वरूप हृदय घात, मस्तिष्क घात, उच्च रक्तचाप, मधुमेहजस्ता स्वास्थ्य जटिलता बढाउने सम्भावना हुन्छ । युवा अवस्थामा यस प्रकारका समस्या देखिनु दीर्घकालीन स्वास्थ्य संकटतर्फको संकेत हो । यसलाई बेवास्ता गर्नु घातक हुनसक्छ ।

कोलेस्ट्रोल नियन्त्रणका उपायहरू

कोलेस्ट्रोल नियन्त्रणका लागि मात्रै होइन अन्य स्वास्थ्य समस्याबाट जोगिनका लागि स्वस्थ र सन्तुलित खानपान जस्तै फलफूल, हरियो सागसब्जी, होल ग्रेन (कोदो, फापर, जौँ, मकै), माछा र नट्स जस्ता खाद्य पदार्थ बढी सेवन गर्नुपर्छ । तर, बोसोयुक्त, तारेका र प्रशोधित खाद्य पदार्थ जस्तै चिप्स, चाउचाउ, बर्गर, फ्राइड चिकेन खानुहुँदैन ।

त्यस्तै नियमित शारीरिक व्यायाम गर्नुपर्छ । दिनमा कम्तीमा ३० मिनेट, हप्तामा पाँच दिन हिँडडुल गर्ने, दौडने, साइकल वा योगजस्ता शारीरिक गतिविधि गर्नुपर्छ । धुम्रपान र मदिरा सेवन त्याग्ने र नियमित स्वास्थ्य परीक्षण गर्ने, हरेक व्यक्तिले वर्षमा कम्तीमा एकपटक रक्तचाप र रगतको जाँच गराउनु आवश्यक हुन्छ ।

ध्यान, पर्याप्त निद्रा र सकारात्मक सोचले मानसिक स्वास्थ्य सुधार गर्नेछ । यसले कोलेस्ट्रोल नियन्त्रणमा सहायक हुन्छ । यदि परिवारमा कसैको हृदय घात, मधुमेह वा उच्च रक्तचापको इतिहास छ भने त्यस्ता त्यस्ता व्यक्तिले थप सावधानी अपनाउँदै नियमित रक्त परीक्षण गर्नु आवश्यक हुन्छ ।

अन्त्यमा

रोग लागेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । तसर्थ, जीवन स्वस्थ राख्न जीवनशैली पनि स्वस्थ बनाउनुपर्छ । तसर्थ, कोलेस्ट्रोलको समस्या छिटो थाहा पाउन नियमित रगत अत्यन्त जरुरी हुन्छ । शारीरिक लक्षणले समयमै समस्या जनाउँदैनन् ।

नेपाली युवालाई अब कोलेस्ट्रोललाई वृद्ध मानिसहरूको समस्या नभएर ‘लुकेको समस्या’ भनेर बुझ्न आवश्यक छ । हाम्रो जीवनशैलीमा भएको परिवर्तनले यो समस्या बढाइरहेको छ । सही जानकारी, सचेतना र सक्रिय जीवनशैली अपनाएर मात्र यो स्वास्थ्य संकटबाट बच्न सकिन्छ । समाज र परिवारले युवामाझ नियमित स्वास्थ्य शिक्षा, परीक्षण र सन्तुलित जीवनशैलीको प्रवद्र्धनमा जोड दिनुपर्छ । साथै चिकित्सकबाट आवश्यक स्वास्थ्य परामर्श लिनु पनि महत्वपूर्ण छ ।

(डा.प्रधान नेशनल कार्डियाक सेन्टरमा कार्यरत छन् ।)