नयाँ गन्तव्य: सांस्कृतिक महत्वको हिले पोखरी

11.28k
Shares

दोलखा।

दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– १ र सिन्धुपाल्चोक जिल्लाको सिमाना पानीढलोमा अवस्थित हिले पोखरी धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकहरुको नयाँ गन्तव्य बनेको छ । शनिवार जनै पूर्णिमाको दिन कालिञ्चोक मन्दिरमा पूजा– आराधनाको लागि पुगेका केही भक्तजनहरु हिले पोखरी समेत पुगेको स्थानीयले बताए । 

सत्य युगमा शिव– पार्वती समेत कैलाश पर्वत (गौरी– शङ्कर हिमालय पर्वत) बाट देउढुङ्गा, कमलमाई, ठिङसाङ पोखरी हुँदै हिले पोखरीमा स्नान गरी कालिञ्चोक टाँपुमा आई तपस्या गरेको किंवदन्ती रहेको छ । 

कालिञ्चोक टाँपुमा कालो भेडाले आई दैनिक दुध दिने भएकोले यो ठाँउलाई कालिञ्चोक भगवती माईथान भनिएको किंवदन्ती रहेको स्थानीय झाँक्रि डुकछिरी तमाङ बताउँछन् । अर्को थरी किंवदन्ती अनुसार कालिञ्चोक कुण्डमा रहेको पानी तामाकोशी, सुनकोशी, दुधकोशी र फलामकोशी चारैतिर पुग्ने भएकोले यो टाँपुलाई कालिञ्चोक भनिएको हो । 

कालिञ्चोकको महिमासंग जोडिएकोले पनि प्राकृतिक रुपमा सुन्दर हिले पोखरी धार्मिक एवम् सांस्कृतिक रुपमा समेत महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् । 

प्राकृतिक रुपमा सुन्दर रहेको हिले पोखरीमा २०६५ सालसम्मै एक जोडि राज हाँस आएर क्रिडा गर्ने गरेको स्थानीय सुनाउँछन् । स्थानीय झाँक्री डुकछिरी तमाङका अनुसार हिले पोखरीमा पहिले– पहिले जोडी राज हाँसले पोखरी भित्र रहेको पात– पतिङ्गरहरु टिपेर सधै सफा राख्ने गर्थ्यो । 

२०६५ साल पछि भने पोखरीमा राज हाँस देख्न छोडिएको स्थानीयको भनाई छ । हिले पोखरी आसपास किसानहरुले भेडी तथा चौरी गोठ लाने भएकोले उनीहरुले पहिले हिले पोखरीमा धूप– बत्ती गर्ने प्रचलन समेत रहेको स्थानीयको बालकृष्ण तमाङको भनाई छ । हिले पोखरी २०७२ सालको भूकम्प अघि निक्कै ठूलो भएपनि भूकम्प पछि पोखरीको पानी सुकेर सानो भएको स्थानीय बालकृष्ण तमाङले बताए ।  

३४ सय मीटर उँचाईमा रहेको हिले पोखरी पुग्न कालिञ्चोक मन्दिरबाट झण्डै ढेड घण्टा पैदल यात्रा गर्नुपर्ने स्थानीयको भनाई छ । चरिकोटबाट सवारी साधनमार्फत कुरी पुगी केबुलकार हुँदै कालिञ्चोक मन्दिर स्थल पुग्ने पर्यटकहरु पैदलयात्राको लागि हिले पोखरी पुग्न सक्ने कुरीमा रहेको सुनपाती होटलका सञ्चालक एवम् पर्यटन व्यवसायी हरी ओली बताउँछन् । 

धार्मिक एवम् प्राकृतिक महत्वको हिले पोखरी कालिञ्चोक पुगेर पैदल यात्रा गर्न चाहने पर्यटकको लागि महत्त्वपूर्ण गन्तव्य हुन सक्ने पर्यटन व्यवसायी ओलीको भनाई छ ।