लमजुङका वैदेशिक रोजगारी पीडितलाई करिब तीन करोड क्षतिपूर्ति

3.76k
Shares

लमजुङ। 

वैदेशिक रोजगारीका क्रममा ठगी, दुर्घटना, मृत्यु र विभिन्न समस्यामा परेका लमजुङका पीडित तथा उनीहरुको परिवारलाई गत आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ क्षतिपूर्ति र आर्थिक सहयोग प्रदान गरिएको छ ।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत बेसीशहरस्थित आप्रवासी स्रोत केन्द्रको सहजीकरणमा आर्थिक वर्ष २०८१-०८२ मा कुल दुई करोड ९४ लाख ८१ हजार तिन सय २४ रुपैयाँ उपलब्ध गराइएको हो ।

आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता ईश्वरबहादुर लोहनीका अनुसार, ठगीसम्बन्धी दर्ता भएका ३६ उजुरीमध्ये २८ वटा उजुरी समाधान गर्दै पीडितलाई ५६ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ जनाको परिवारलाई एक करोड ५६ लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । मृत्यु भएका १५ जनामध्ये दुई परिवारलाई भने अझै सहयोग प्रक्रिया पूरा हुन बाँकी छ । स्वास्थ्यसम्बन्धी समस्या भई सहयोग मागिएको १५ निवेदनमध्ये आठ पीडितलाई १३ लाख ६७ हजार रुपैयाँ उपलब्ध गराइएको छ भने बाँकी सात निवेदन प्रक्रियामा छन् ।

यसैगरी, अलपत्र, उद्धार तथा अन्य समस्यामा परेकाहरुलाई ६७ लाख ९४ हजार तिन सय २४ रुपैयाँ सहयोग गरिएको छ । फरक काम वा तलबसम्बन्धी तीन उजुरी समाधान गर्दै ७० हजार रुपैयाँ क्षतिपूर्ति पनि प्रदान गरिएको केन्द्रले जनाएको छ । 

गत वर्ष कुल ८३ उजुरीमध्ये ६० वटा पूर्ण रुपमा समाधान गरिएका छन् भने २३ वटा अझै प्रक्रियामा रहेका छन् । सुरक्षित आप्रवासन (सामी) परियोजना २०८१ जेठ ८ गतेदेखि लमजुङमा सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन यसले विदेश जानुअघि सचेतना र जानकारी प्रदान गर्ने, ठगीमा परेकालाई निःशुल्क कानुनी परामर्श दिने तथा गन्तव्य देशमा समस्यामा परेका कामदारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।