देखिएन राज्यको जिम्मेवारी, उपचारका लागि आईसीयुमा छट्पटिँदै सहिदपिता


हेटौंडा। 

दोस्रो जनआन्दोलन २०६२-०६३ का मकवानपुरे सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको गम्भीर स्वास्थ्य समस्याका कारण चितवन मेडिकल कलेज (सीएमसी) को सघन उपचारकक्ष (आईसीयु) मा उपचार भइरहेको छ ।

मकवानपुरगढी गाउँपालिका–५ निवासी करिब ८७ वर्षीय घिमिरेलाई हेटांैडामा उपचार सम्भव नभएपछि चितवन रिफर गरिएको हो । परिवारका अनुसार उनको छातिमा पानी जमेको र संक्रमण फैलिएको छ । चिकित्सकहरुले तत्काल शल्यक्रिया (अपरेसन) गर्नुपर्ने बताएका छन् । तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या उत्पन्न भएको छ ।

सहिद घिमिरेका नाति रञ्जन घिमिरेका अनुसार हजुरबुबाको स्वास्थ्य दिनप्रतिदिन जटिल बन्दै गएको छ । चिकित्सकहरुले तत्काल अपरेसन गर्नुपर्छ भनेका छन् । तर, उपचार खर्च जुटाउन गाह्रो भइरहेको छ ।

बासुदेवका पिता ख्याउटो अनि कुप्रिएको शरीरसाथ जसोतसो लगलग काँप्दै उभिन्छन् । र, घरको पिंढीमा रहेको फलैंचा (लामो बेञ्च) मा बस्छन् । दम र खोकीका कारण उनी त्यति बोल्न सक्दैनन् । हिँडडुल त टाढाको कुरा, कति बेला के हुने हो भन्ने अवस्थामा छन् उनी ।

राष्ट्र र माटोका लागि आफ्नो जीवन आहुति दिने सहिद भन्दा देशमा भएका विभिन्न द्वन्द्वमा ढुंगामुढा गर्ने सहिदहरु बढ्दै गएकोप्रति परिवारले चिन्ता व्यक्त गरेको छ । जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदको परिवारप्रति राज्यले विशेष जिम्मेवारी लिनुपर्ने मानिन्छ । तर, सहिदका परिवारका सदस्य जीवन र मृत्युको दोसाँधमा पुग्दासमेत उपचार खर्च अभाव हुनुले राज्यप्रतिको भरोसा कमजोर हुने चिन्ता उब्जाएको छ । सहिद परिवार राजनीतिक दलबाट भएको बेवास्ताबाट दुःखी छन् । सहिदप्रति सम्मान भाषण र राजनीतिक फाइदाका लागि भजाउनमात्र प्रयोग हुने गरेको परिवारका सदस्यले गुनासो गरेका छन् ।

सहिद परिवारलाई कुनै नेताले वास्ता नगरेको आरोप परिवारले लगाएको छ । ‘देशलाई अधिकार सम्पन्न बनाउन सहिद हुनेको परिवारले केही पाएन,’ उनीहरुले भने । सुखसुबिधा नेतालाई नै नपुगेकाले सहिद परिवारको पालो नआएको भन्दै उनीहरुले तीतो पोखे । ‘नेतालाई पतिपत्नी नै सांसद् हुनुपर्ने,’ उनीहरुले भने–सहरमा जग्गा, घर र विदेशी बैंकमा पैसा राख्ने होड नेतामा छ । कमाउने उमेरको छोरा गुमाएका सहिद परिवार भने विहान खाए बेलुका के खाउँ भन्ने अवस्थामा छ ।

‘हामी कसरी यी सबै झेल्दैछौं, हामीलाई नै थाहा छ । सुरुसुरुमा खुब नेताहरु विभिन्न किसिमका प्रलोभन देखाउँदै घरमा आउँथे । हाल कोही आउँदैनन् । केही मतलब राख्दैनन्,’ घिमिरे परिवारको गुनासो छ ।

बासुदेव घिमिरेले लोकतान्त्रिक जनआन्दोलन २०६२-०६३ को क्रममा आफ्नो प्राणको आहुति दिएका थिए । उनको बलिदानले नेपाली समाजमा लोकतन्त्रको मूल्य र नागरिक अधिकार सम्मानका लागि महत्वपूर्ण योगदान पु¥याएको छ । घिमिरे २०३२ भदौ २५ गते मकवानपुरको सबिक आमभञ्ज्याङ गाविस–६, पानीघाट (हाल मकवानपुरगढी–५) मा जन्मिएका हुन् । उनले २०६३ बैशाख ७ गते काठमाडौंको कलंकीमा शहादत प्राप्त गरेका थिए ।

घिमिरे मकवानपुरका एक सामान्य परिवारका सदस्य थिए । २०६२ चैतमा जनआन्दोलनको लहरमा उनी काठमाडौं कलंकीमा सक्रिय सहभागी थिए । शहादतपछि घिमिरेलाई नेपाल सरकारले जनआन्दोलनका सहिदका रुपमा सम्मानित ग¥यो । उनको स्मृतिमा मकवानपुरगढी गाउँपालिकाले प्रतिमा स्थापना गर्ने निर्णय गरेको थियो । तर, बजेट अभाव र प्रशासनिक जटिलताका कारण प्रतिमा स्थापनामा ढिलाइ भएको छ ।

सहिद बासुदेवको नाममा हेटौंडामा बनाइने भनेर ठड्याइएको सभागृहको नामोनिशान मेटिएको छ । हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा १३ तले बहुउद्धेश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको हो ।

२०६३ सालमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको पहलमा निर्माण सुरु भएको सभागृहको नाम ‘ज्ञानेन्द्र सभागृह’ राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका सहिद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको थियो । जुन हाल भत्काइएको छ, जहाँ अब ठूलो व्यापारिक भवन बन्नेछ ।