ट्रम्प–पुटिन भेटवार्ता अर्को साता, युक्रेन युद्ध अन्त्यतर्फ सम्भावित पहल


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार (अगस्ट १५) अलास्कामा भेटवार्ता हुने भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत बैठकको जानकारी दिँदै युक्रेन युद्ध अन्त्यका लागि सकारात्मक संकेत दिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो भेटलाई सम्भावित शान्ति सम्झौताको दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरेका छन्। ट्रम्पले पुटिनलाई शान्तिको बाटो रोज्न वा गम्भीर आर्थिक सजाय भोग्नुपर्ने चेतावनी दिँदै समयसीमा तोकेको दिनमै भेटवार्ता हुन लागेको हो।

सन् २०१४ मा रुसद्वारा युक्रेनको क्रिमिया कब्जा र २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। अबको वार्ता यी द्वन्द्व र तनाव अन्त्य गर्न निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।