फ्यचरामा २०२५ : प्रविधिमा नेपाली युवाको भविष्ययात्रा


काठमाडौं

सूचना प्रविधिको गतिशील संसारमा नयाँ पुस्तालाई अग्रसर बनाउन उद्देश्यसहित, इस्लिङ्टन कलेज र आईएनजी स्किल एकेडेमीको सहकार्यमा तीन दिने प्रविधि महोत्सव ‘फ्यचरामा २०२५’ काठमाडौंमा सम्पन्न भएको छ। साउन २१ देखि २३ गतेसम्म इस्लिङ्टन कलेज परिसरमा आयोजित महोत्सवले नेपाली युवाहरूको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडल, रोबोटिक सहायक, ‘प्रोजेक्ट किसान (फर्म बोट)’, टेलिप्रेसेन्स रोबोट, तथा विविध एनिमेशन अनुभवहरूले दर्शकको विशेष ध्यान खिचे। साथै डिजिटल सुरक्षा देखि कृत्रिम बुद्धिमत्ता (एआई) सम्मका विषयमा अन्तरक्रियात्मक स्टल, प्रत्यक्ष प्रस्तुति र कार्यशाला समेत राखिएका थिए।

अन्तिम दिनमा सहभागी युवामाझ लोकप्रिय ‘कफी रब’ सत्र पनि सम्पन्न भएको थियो। आयोजकका अनुसार तीन दिनको अवधिमा ३,५०० भन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेका थिए।

मुख्य संयोजक अनिषा आचार्यका अनुसार, “फ्यचरामाको उद्देश्य प्रविधिमा रुचि राख्ने युवाहरूलाई प्रयोगात्मक सिकाइको अवसर दिने हो। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै दीगोपन र उद्यमशीलताको सोच विकसित गर्न मद्दत पुर्‍याउँछ।”

फ्यचरामा २०२५ केवल प्रविधि प्रदर्शन मात्र नभई दीगो विकास, उद्यमशीलता र प्रयोगात्मक शिक्षाको सशक्त स्थापना गर्ने दिशामा उल्लेखनीय योगदान भएको आयोजकको दाबी छ। यस कार्यक्रमलाई आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको छ, जसबाट देशभरका युवामा प्रविधि र नवीनताको चेतना फैलाउने अपेक्षा गरिएको छ।