सरकारले भन्छ, अघिल्लो वर्षभन्दा उद्योग खुल्नेको संख्यामा वृद्धि

देशभित्र रोजगारीको अभाव, वैदेशिक रोजगारमा युवाको बढ्दो निर्भरता

470
Shares

काठमाडौं ।

रोजगारीका अवसरको चरम अभाव, बेरोजगारीको दरमा दिनानुदिनको वृद्धि र श्रम बजारमा सरकारको असक्षमताका कारण वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ । रोजगारी खोज्दै दैनिक हजारौं नेपाली युवा विदेशिएसँगै देशभित्र जनशक्तिको अभाव गहिरिँदै गएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले उद्योग अघिल्लो वर्ष उद्योग खुल्न सहज बनाउन कानुन संशोधन गरेसँगै उद्योग खोल्ने क्रम बढेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०|०८१ मा ४ सय ३४ उद्योग खुलेकोमा २०८१|२०८२ मा ७ सय दर्ता भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०|०८१ मा ६१ अर्ब ७७ करोड विदेशी लागानी आएकोमा २०८१|२०८२ मा ६४ अर्ब ९६ करोड प्रस्तावित लगानी आउने देखिएको छ । जसमा २०८०|०८१ मा ४०२ ओटा उद्योगमा विदेशी लगानी स्वीकृति भएकोमा २०८१|२०८२ मा ८ सय ४० ओटा उद्योग स्वीकृति भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो वर्षमात्रै झन्डै ७ लाख नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । मुख्यतया मलेसिया, खाडी मुलुकहरू, कोरिया र युरोपसम्म नेपालीको आकर्षण देखिएको छ । तर, प्रश्न उठ्छ– किन देशमै काम छैन ? किन सरकार युवालाई यहीँ टिकाउने नीति ल्याउन असफल देखिएको छ ?

विशेषज्ञहरू भन्छन्– नेपालमा रोजगारी सिर्जनाको स्पष्ट रणनीति छैन । उद्योगधन्दा खोल्न चाहनेलाई नीति र अनुमति प्रक्रियाको जटिलता, लगानीमैत्री वातावरणको अभाव, प्राविधिक शिक्षाको कमजोरी र सरकारी संयन्त्रमा गम्भीरता नहुनु मुख्य कारण हुन् ।

सामाजिक र आर्थिक दबाब

घरपरिवारको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेका युवाहरूले आफ्नै भूमिमा सम्भावना नदेखेपछि वैदेशिक रोजगारीलाई विकल्प होइन, बाध्यता मानिरहेका छन् । कम तलब, स्थायीत्वविहीन रोजगार र श्रम शोषणको डर हुँदाहुँदै पनि उनीहरू विदेशिन आतुर छन् ।

सरकारको मौनता र असक्षमता

श्रम मन्त्रालयले बेरोजगारी न्यूनीकरणका लागि विभिन्न योजना ल्याएको दाबी गरे पनि ती योजनाहरू कागजमै सीमित छन् । ‘स्वदेशमै रोजगार’ जस्ता कार्यक्रम बजेट भाषणमा सीमित छन् तर कार्यान्वयनको स्तर न्यून छ । रोजगारी सिर्जना गर्ने भनेर स्थापना गरिएका तालिम केन्द्रहरू पर्याप्त दक्ष जनशक्ति उत्पादन गर्न असफल भएका छन् । स्थानीय तहमा पनि रोजगार संयोजनमा समन्वयको अभाव छ ।

रोजगार सिर्जनामा गम्भीर ध्यान दिनुपर्ने बेला

विश्लेषकहरू भन्छन्– ‘देशभित्र रोजगारी सिर्जना गर्न नसकुन्जेल वैदेशिक रोजगारको लहर रोकिने छैन । यसको दीर्घकालीन असर मुलुकको अर्थतन्त्र र सामाजिक संरचनामा गहिरो असर पार्न सक्छ ।’ अब सरकारको मुख्य प्राथमिकता स्वदेशमै रोजगारी सिर्जना गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन दिने र सीपमूलक शिक्षा तथा तालिममा लगानी बढाउने हुनुपर्ने देखिन्छ ।