इजरायल ।
इजरायलका विशेष सैन्य बलका क्याप्टेन नदिभ बेन यहुदाले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई लिएर नेपाल फर्कने प्रतिबद्धता जनाउनुभएको छ । इजरायलका लागि नेपाली मानार्थ महावाणिज्यदूत तथा इजरायलस्थित नेपाली दूतावासका वरिष्ठ सल्लाहकार क्याप्टेन नदिभले विपिनलाई बन्धक बनाइएको स्थानको अवलोकन गर्न इजरायलको दक्षिणी भागमा रहेको किबुत्ज अलुमिम (कृषि सहकारी फर्म) पुगेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सन् २०२३ को अक्टोबर ७ मा उक्त क्षेत्रमा भएको हमास आक्रमणमा मारिका १० जना नेपाली विद्यार्थीका परिवारप्रति समवेदना प्रकट गर्दै उहाँले भन्नुभयो– ‘नेपाल मलाई मेरो आफ्नै घरजस्तै लाग्छ । म नेपाल आउँछु तर अब विपिनलाई लिएरै आउँछु । हामी हमासले लगेका एकएक बन्धकहरूलाई खोजी गर्नेछौं र विपिनलाई पनि खोजेरै छाड्छौं ।’
नेपाली पत्रकार भ्रमण टोलीसँगै रहेका नेपालस्थित इजरायली दूतावासका उपप्रमुख जनान बिबरले पनि सबै बन्दीहरू फिर्ता भएपछि पनि विपिनको खोजी नरोकिने जिकिर गर्दै भन्नुभयो– ‘हामी सुनिश्चित गर्छौं कि बन्दी रिहाइको अन्तिम सूचीमा विपिन पनि हुनेछ ।’ उहाँले विपिनलाई एक्लै नछाडिने स्पष्ट पार्दे भन्नुभयो– ‘विपिनमाथिको हाम्रो दायित्व झनै बढी छ । हाम्रा नागरिकहरू त हमाससँगको युद्धमा थिए र छन् तर विपिनको यो युद्धसँग कुनै लेनदेन छैन । तैपनि उनलाई हमासले कब्जामा लिएको छ । हामी उनलाई त्यतिकै छाड्दैनौं, जसरी पनि फर्काउछौं ।’
अलुमिनसँगैको अर्को किबुत्जमा कार्यरत अर्का नेपाली विजय राईका अनुसार विपिनलाई पछिल्लो पटक सार्वजनिक भएको भिडियो फुटेजमा देखेयता विपिनको बारेमा कुनै खबर आएको छैन । उक्त भिडियो फुटेजमा विपिनलाई अस्पतालबाट हमासले तानेर लगेको देखिएको थियो । उनले आफू, पत्नी र सानी छोरी बंकरभित्र लुकेर बाँच्न सफल भएको बताउँदै उक्त त्रासदीपूर्ण घटनाले अझै पनि आफूलाई मानसिक पीडा दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म त यो किबुत्जमा आउनै सक्दिनँ । त्यतिका जना मरेका छन् । यहाँ आउँदा मलाई भाउन्न हुन्छ । आज त तपाईंहरू आउनुभएकाले भेट्नमात्र आएको हुँ ।’
यसअघि इजरायलका परराष्ट्र मन्त्रालयका दक्षिण र पूर्वी एसिया विभाग प्रमुख सगी करनीले पनि जेरुसेलमस्थित मन्त्रालयमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा हमासको कब्जामा अझै ५० जना रहेको र तीमध्ये करिब २० जना जीवितै हुनसक्ने अनुमान रहेको बताउनुभएको थियो । तर, उहाँले ती २० जनामा विपिन पर्छन् कि पर्दैनन् भन्ने यकिन नभएको बताउनुभयो । यद्यपि, उहाँले विपिनको साहसिक कार्यको खुलेर प्रशंसा गर्दै भन्नुभयो– ‘विपिन नेपालीको मात्र होइन, हाम्रो पनि नायक हुन् । उनले आफ्नो ज्यान जोखिममा राखेर अरूलाई बचाउन गरेको प्रयास साँच्चैको अविस्मरणीय छ ।’
इजरायली सुरक्षास्रोतका अनुसार हमासको आक्रमणको बेला दुईवटा ग्रिनेड बंकरमा फ्याँकिएको थियो । तीमध्ये एक विपिनले समातेर बंकरबाहिर फालेका थिए, जसले कम्तीमा चार नेपाली विद्यार्थीको ज्यान बचाएको थियो । आक्रमण १० जना नेपालीको मृत्यु भएको थियो भने ४ जना गम्भीर घाइते र २ जना सामान्य घाइते भएका थिए ।
नेपाल सरकारले पनि विपिनको रिहाइका लागि हमासलाई दबाब दिन कतार, इजिप्ट, साउदी अरेबिया, इरानलगायतका राष्ट्रहरूसँग आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि आफूले ती राष्ट्रका समकक्षीहरूसँग वार्ता जारी राखेको बताइराख्नुभएको छ । साथै नेपालले रेडक्रसको अन्तर्राष्ट्रिय समितिलगायतका संघसंस्थासँग पनि विपिनको अवस्थाबारे जानकारी माग गर्दै आएको छ ।
हमासको बन्धकमा रहेको विपिन जोशीलगायत सबैको तत्काल रिहाइको माग गर्दै ती सबै बन्धकका तस्बिरहरू इजरायलभित्र प्रवेश गर्ने इजरायली विमानस्थलको अध्यागमन भवनदेखि सहरैभरि जताततै प्रदर्शनमा राखिएको छ ।
नेपाल मलाई मेरो आफ्नै घर जस्तै लाग्छ । म नेपाल आउँछु तर अब विपिनलाई लिएरै आउँछु । हामी हमासले लगेका एकएक बन्धकहरूलाई खोजी गर्नेछौं र विपिनलाई पनि खोजेरै छाड्छौं ।
क्याप्टेन नदिभ बेन यहुदा
इजरायलका लागि नेपाली मानार्थ महावाणिज्यदूत











प्रतिक्रिया