टेन्डर सेटिङ प्रकरण : ८० करोडको प्रहरी टेन्डरमा अनियमितता, छानबिन सुरु


काठमाडौं ।

नेपाल प्रहरीका लागि आवश्यक लत्ताकपडा र बन्दोबस्तीका सामग्री खरिद टेन्डरमा सेटिङको आशंका भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन समिति गठन गरेको छ।

६ सदस्यीय छानबिन समिति मालसामान खरिद अनुगमन शाखा प्रमुख विनोदकुमार कोइरालाको नेतृत्वमा गठन गरिएको हो। समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।

प्रहरीले झुल, म्याट्रेस, युनिफर्म लगायतका सामान खरिद गर्न बोलपत्र आह्वान गर्दा विगत तीन वर्षयता सामान आपूर्ति गरेका कम्पनी मात्र सहभागी हुन पाउने गरी सर्त तोकिएको थियो।

यो सर्तले नयाँ कम्पनीलाई प्रतिस्पर्धाबाट रोकिएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरिएको हो। करिब ८० करोड रुपैयाँ बराबरको सामान खरिदको तयारी गरिएको यो टेन्डरमा भ्रष्टाचारको आशंका गरिएको छ।