बहुविवाहलाई धेरैले केवल महिलासँग सम्बन्धित विषयका रूपमा बुझ्ने गरेका छन्, तर यो सोच न केवल अपूर्ण छ, बरु गम्भीर रूपमा अन्यायपूर्ण पनि हो। बहुविवाह कुनै एक लिंगको पीडाको कथा होइन; यो हाम्रो समाजमा गढिएको संरचनात्मक असमानताको एउटा प्रत्यक्ष परिणाम हो जसले महिलामात्र होइन, पुरुषलाई पनि गहिरो रूपमा असर गर्छ।
बहुविवाह महिलाको मानवअधिकारमाथिको गम्भीर उल्लंघन हो—यसले स्त्रीको स्वाभिमान, आत्मसम्मान र जीवनको स्वतन्त्रतालाई खण्डित गर्छ। तर, त्यही बहुविवाहले पुरुषको पनि सामाजिक छवि, नैतिकता, जिम्मेवारीबोध र आत्मगौरवमा नकारात्मक प्रभाव पार्दछ। एक सच्चा, जिम्मेवार र आत्मसम्मानित पुरुष कहिल्यै बहुविवाह चाहँदैन। उसले थाहा पाउँछ, एउटै सम्बन्धप्रति समर्पण, इमानदारी र सम्मान राख्नु नै उसको असली नैतिक सफलता हो।
बहुविवाहले महिलालाई मात्र होइन, पुरुषलाई पनि आत्मग्लानी, सामाजिक आलोचना र सम्बन्धविच्छेदको पीडाबाट गुजार्न सक्छ। पुरुषलाई जिम्मेवारीबाट पलायनशील, अस्थिर, र सामाजिक रूपमा अविश्वासनीय बनाउने यो चलनले सम्पूर्ण परिवार प्रणालीमा अस्थिरता ल्याउँछ। समाजको बुनियादी संरचना नै कमजोर पार्ने यस्तो अभ्यासको अन्त्य समयको माग हो।
हालै बहुविवाहसम्बन्धी कानुनी संशोधनको प्रस्तावले देशभरि व्यापक बहस जन्माएको छ। सामाजिक सञ्जालदेखि अकादमिक वृत्त, कानुनी क्षेत्र र महिला अधिकारकर्मीहरूमाझ यसबारे विचारविमर्श चलिरहेको छ। तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने, कानुनी प्रक्रिया कुनै एक दिनको कुरा होइन। कुनै पनि विधेयक पहिले मन्त्रालयस्तरमा मस्यौदा तयार पारिन्छ, त्यसपछि सम्बन्धित निकाय—जस्तै महिला तथा सामाजिक समितिमा पठाइन्छ, जहाँ गहन छलफल, सरोकारवालाको सुझाव र कानुनी भाषा सुधार गरिन्छ। अन्ततः संसदमा विधेयक प्रस्तुत भएपछि मात्र सांसदहरूको औपचारिक भूमिका सुरु हुन्छ।
त्यसैले, कुनै विधेयक संसदमा पुग्नुअघि नै सांसदहरूमाथि दोषारोपण गर्नु न्यायोचित होइन। कानुनी प्रक्रियाप्रति सम्मान राख्दै, हाम्रो प्रतिक्रिया जानकारीमा आधारित र विवेकपूर्ण हुनुपर्दछ। भावना र आक्रोशले होइन, तर्क, तथ्य र संवेदनशीलताले अघि बढेमा मात्र हामी यस्ता जटिल सामाजिक समस्याको समाधानतर्फ उन्मुख हुन सक्छौं।
हामीले बुझ्नुपर्छ—बहुविवाह, दाइजो प्रथा, बलात्कारजस्ता सामाजिक विकृतिहरू महिलालाई मात्र पीडित बनाउँदैनन्, ती विकृतिहरू पुरुषहरूको सामाजिक मूल्य, जिम्मेवारी र सम्मानमाथि पनि प्रश्न उठाउँछन्। समाजमा यस्ता गलत अभ्यासको अन्त्य गर्न पुरुषहरूले पनि आत्मनिरीक्षण गर्नु जरुरी छ। बहुविवाहको अन्त्य महिलाले मात्र होइन, पुरुषले पनि चाहनुपर्छ, भन्नुपर्छ, र त्यसविरुद्ध आवाज उठाउनुपर्छ।
पुरुषहरूले चुप लागेर बस्ने होइन, खुला रुपमा भन्नुपर्छ—“हाम्रो समाजमा अब यस्तो विभेदको स्थान छैन।” जब पुरुषले पनि न्याय, समानता र सम्मानका मूल्यहरूलाई आत्मसात गर्छन्, तबमात्र समाजमा परिवर्तन सम्भव हुन्छ।
अन्ततः, बहुविवाहको अन्त्य कुनै एक लिंगको अभियान होइन; यो सम्पूर्ण समाजको साझा जिम्मेवारी हो। एक न्यायपूर्ण, संवेदनशील र सशक्त समाज निर्माण गर्न महिला र पुरुष दुवैको समान संलग्नता, चेतना र उत्तरदायित्व अपरिहार्य छ।
लेखक डा. कार्की Gender and Public Policy Specialist हुन्, जसले नेपाली समाजको संरचनात्मक असमानता, लैङ्गिक न्याय र मानसिक स्वास्थ्यका मुद्दामा विगत लामो समयदेखि शहर र विशेषतः ग्रामीण भेगमा उल्लेखनीय काम गर्दै आएकी छन्। उनी सार्वजनिक नीति निर्माणदेखि समुदाय-स्तरको सचेतना अभिवृद्धिसम्मका अभियानमा सक्रिय रहँदै आएकी छिन्। सामाजिक न्याय, लैङ्गिक समानता र मानसिक स्वास्थ्यजस्ता विषयलाई नीतिगत रूपमा सम्बोधन गर्नु उनको प्रमुख लक्ष्य हो।











प्रतिक्रिया