चिकित्सक लाइसेन्स परीक्षाको सफलताले दिएको सन्देश


नेपाल मेडिकल काउन्सिलले हालै प्रकाशित गरेको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षाको नतिजाले चिकित्सा शिक्षा क्षेत्रमा इतिहास रचेको छ । साउन १५ र १६ गते सञ्चालन गरिएको उक्त परीक्षामा ९९८ जना परीक्षार्थी सफल भएका छन् । जुन कुल सहभागी १,०७६ को ९१ दशमलव ८२ प्रतिशत हो । यो दर हालसम्मकै उच्च हो । चिकित्सा शिक्षामा गरिएको लगानी र नीतिगत सुधार सफल हुँदै गएको सकारात्मक संकेतको रूपमा यसलाई लिन सकिन्छ ।

पछिल्ला केही वर्षको प्रवृत्ति हेर्दा सफलता दर क्रमशः वृद्धि हुँदै आएको देखिन्छ । अघिल्लो वर्ष ९१ दशमलव ४५ प्रतिशत विद्यार्थी सफल भएका थिए भने यसपटक त्यो दर झनै माथि पुगेको छ । नेपालजस्तो देशमा दक्ष चिकित्सकको संख्या वृद्धि हुनु भनेको स्वास्थ्य पहुँच र गुणस्तरमा सुधारका लागि अवसर हो । तर यति उच्च सफलता दरले केही प्रश्न पनि उठाएको छ । चिकित्सा सेवा केवल परीक्षा पास गरेर प्राप्त हुने उपाधिको विषय होइन । यो पेसा विज्ञानसँगै सेवा, संवेदनशीलता र नैतिकतासँग पनि जोडिएको हुन्छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालका अनुसार परीक्षामा सहभागी अधिकांश विद्यार्थी नयाँ पास आउट भएकाले उनीहरू तुलनात्मकरूपमा तयारी अवस्थामा थिए । यसले केही हदसम्म नतिजा सकारात्मक हुन सहयोग पुगेको हुन सक्छ । यद्यपि त्यति मात्रले यति उच्च सफलता दरको व्याख्या पर्याप्त हुँदैन । प्रश्न उठ्न सक्छ– के परीक्षा व्यवस्थापन पक्ष पर्याप्त चुनौतीपूर्ण र विश्लेषणात्मक थियो ? के प्रश्नपत्रले चिकित्सकीय ज्ञान, निर्णय क्षमता र व्यावहारिक बुझाइलाई ठोस रूपमा परीक्षण ग¥यो ? हुन त नेपाल मेडिकल काउन्सिलले पछिल्ला वर्षहरूमा परीक्षा प्रणाली पारदर्शी र मापदण्डअनुसार सञ्चालन गर्दै आएको कुरा सराहनीय छ । तर अझ सुदृढ मूल्यांकन प्रणाली आवश्यक छ । केवल किताबी प्रश्नमा आधारित परीक्षाभन्दा व्यावहारिक मूल्यांकनलाई थप मजबुत पार्नुपर्ने खाँचो छ । यस्तै लिभिङ इन्टर्नसिपको कार्यसम्पादन मूल्यांकनलाई पनि नतिजामा समावेश गर्नु न्यायोचित देखिन्छ ।

यस परीक्षाको अर्को पक्ष ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने चुनौतीसँग पनि गाँसिएको छ । धेरैजसो विशेषज्ञ चिकित्सक शहरी अस्पताल वा निजी क्षेत्रमै सीमित हुने प्रवृत्ति रहेको पृष्ठभूमिमा काउन्सिलले योग्य चिकित्सकलाई प्राथमिक र सन्दर्भ सेवामा समानरूपले परिचालन गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । विशेष गरी सरकारी सेवामा अनिवार्य सेवा अवधिको नीति मजबुत बनाएर, विशेषज्ञता लिएपछि सार्वजनिक स्वास्थ्य प्रणालीमा योगदान पु¥याउने वातावरण बनाउनु अत्यावश्यक छ । अर्कोतर्फ शिक्षा संस्थाहरूले विशेषज्ञता प्रदान गर्दा त्यस्तो योग्यता विकास गर्ने संरचना तयार गरेका छन् कि छैनन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । कोचिङ केन्द्रमा भर पर्ने, प्रश्न बैंक घोकेर मात्र परीक्षा पास गर्ने संस्कारले भविष्यमा चिकित्सकीय सेवा कमजोर बनाउने खतरा रहन्छ ।

त्यसैले आजको यो ऐतिहासिक सफलता उत्सवको विषय त हो तर त्यससँगै गम्भीर समीक्षा र सुधारको अवसर पनि हो । यी ९९८ जना नयाँ विशेषज्ञ चिकित्सकको सेवाले देशको स्वास्थ्य प्रणालीमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने सबैको अपेक्षा छ । तर त्यो केवल नतिजाको उत्साहमा होइन, दीर्घकालीन नीतिगत योजनामा आधारित कार्यान्वयनमा भर पर्छ । नेपाल मेडिकल काउन्सिललाई यस सफल परीक्षाको लागि बधाई दिनु आवश्यक छ । साथै सुधार र आगामी रणनीतिमा अझ गहिरो छलफल, प्रतिबद्धता र पारदर्शिता पनि आवश्यक छ ।