नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसले अकालमा ज्यान गुमाउँदै


काठमाडौँ। 

विश्वमा बढ्दै गएको नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि काठमाडौँमा आम सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने विषयमा स्वास्थ्य पत्रकारहरुसँग एक बृहत् छलफल कार्यक्रम सम्पन्न गरियो । 

कार्यक्रममा नेपाल एनसीडि अलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोग नियन्त्रणमा आमसंचारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने जानकारी गराए । विश्वमा हरेक दिन नसर्ने रोगका कारण धेरै मानिसको ज्यान जाने गरेको र नेपालमा पनि नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको अकालमा ज्यान जाने गरेको छ । नसर्ने रोगको प्रमुख कारणहरुका बारेमा आमसञ्चार माध्यमले सूचना तथा समाचार सम्प्रेषण गरी सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । 

अलायन्सका महासचिव किशोर कुमार प्रधानाङ्ले विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांक अनुसार ७१ प्रतिशत मानिसको नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताए । उनले नसर्ने रोगहरुमा प्रमुख ४ प्रकारका मुटु, स्वासप्रस्वास, क्यान्सर र मधुमेह रहेको बताए । सोही अवसरमा उनले नेपालमा ४ जना मध्ये १ जनामा उच्च रक्तचापको समस्या रहेको औल्याए । 

नेपालमा झण्डै २५ लाखको हारा हारी अर्थात् कुल जनसंख्याको ८ दशमल्भ ५ प्रतिशतमा मधुमेहका बिरामी नेपालमा रहेका छन् । जसमा २७ प्रतिशतको सूर्तिजन्य पदार्थको सेवनका कारण लाग्ने विभिन्न  रोगबाट मृत्यु हुने गरेको छ । नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो रहेको प्रधानाङ्ले बताए । उनले रोगको प्रमुख कारण जंकफुड, खानपान तथा शहरी जीवनशैली, शारीरिक व्यायाम लगायतका समस्या रहको बताए । 

यी समस्याको समाधान गर्न स्थानिय सरकार, स्वास्थ्य स्वयमसेवीका, पत्रकार, आम नागरिक एकजुट भए मात्र सम्भव हुने देखेर काठमाडौ महानगरपालिका अन्र्तगतका ६४ जना महिला स्वास्थ्य स्वयमसेवीकालाई महानगरपालिकासँग मिलेर तालिम दिईसकेको र पत्रकारहरुसँग पनि सहकार्य गर्ने उदेश्यले यो छलफल कार्यक्रम राखेको जानकारी गराए । 

अलायन्सका आजिवन सदस्य मनिता प्याकुरेलले नसर्ने रोगको बढ्दो प्रबृत्ति दक्षिण एशियामा बढ्दो रहेको र नेपाल पनि उत्तिकै अगाडि रहेको बताए । सन् २०१९ को विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपाल तेस्रो नम्बरमा रहेको छ । नेपालमा सूर्तिजन्य पदार्थको खुलेआमा व्यापार र प्रयोग रहेको र १ सय प्रकार भन्दा बढी गुट्खा नेपालमा विक्री हुने गरेको पनि उहाँले जानकारी गराए । उनले नेपालीहरुको अस्वस्थकर खानपान, ट्रासफ्याट युक्त तेलको प्रयोग, तारेका र भुटेका खानाकोबढी प्रयोगले नसर्ने रोगको बृद्धि भएको बताए । यसका साथै मध्यपान, बोसोयुक्त चिल्लो खाना, चीनी र नूनकोपनि उत्तिकै प्रयोग हुनुले नसर्ने रोग बढेको बताए । 

सूर्तिजन्य पदार्थ सेवन गर्नेमा महिला भन्दा पुरुष बढी रहेको छ । शारीरिक व्यायाम, दाल, भात, तरकारी फलफूल खानामा हरेक दिन खाने र दिनमा आधा घण्टा व्यायाम गर्नाले नसर्ने रोगको प्रकोपलाई घटाउन सकिने उनले बताए । 

कार्यक्रममा संचारकर्मी अतुल मिश्र, रामप्रसाद न्यौपाने, पदमराज जोशी, सरोज ढुंगेल लगायतले सञ्चार माध्यमको भूमिका र सरकार तथा विभिन्न संघसंस्थाहरुको सहकार्य भए मात्र अभियान सफल हुने बताएका थिए ।