हाम्रो देशमा कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको साथै ६०.४ प्रतिशत जनसंख्या आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रकै मूल आधारशिला हो । उच्च समावेशी आर्थिक वृद्धिमा योगदान पु¥याउने क्षेत्र भएकोले कृषि वैज्ञानिक ढंगले सुधार तथा रुपान्तरण गर्दै विगतका प्रयासलाई सघन बनाई उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु अति आवश्यक छ । नेपालको संविधानले खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ । त्यसैले विभिन्न कारणले उत्पन्न हुन सक्ने खाद्य तथा पोषण संकटको अवस्थालाई मध्यनजर गर्दै प्रमुख खाद्यान्न बाली, फलफूल, तरकारी र माछामासु उत्पादनमा आत्मनिर्भरताको लागि कृषिमा नीतिगत, संरचनागत र संस्थागत सुधारको अति आवश्यक छ ।
देशलाई खाद्य सम्प्रभु तुल्याएर स्वाधीन अर्थतन्त्रको विकास गर्न कृषि क्षेत्रमा उल्लेख्य मात्रामा लगानी बढाउन पनि त्यत्तिकै आवश्यक छ । नेपालको संविधानका अधिकार सूची, कृषि क्षेत्रको समग्र विकासको लागि मार्गचित्रणको रुपमा रहेको कृषि विकास रणनीति र दिगो विकास लक्ष्यलाई मार्गदर्शनको रुपमा लिएको पाइन्छ । रणनीतिले कृषि तथा पशुपन्छीजन्य उत्पादनको व्यवसायीकरण, यान्त्रीकरण र विविधीकरण गरी यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन जोड दिएको छ । दिगो विकास लक्ष्यले लिएको भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषण सुनिश्चित गर्ने, दिगो कृषिको प्रवद्र्धन गर्ने लक्ष्य हासिल गर्ने गरी यो क्षेत्रमा स्रोत र साधनको वैज्ञानिक परिचालन गर्नुपर्दछ । त्यस्तै कृषि क्षेत्रको औद्योगिकीकरणको माध्यमबाट थप रोजगारी सृजना गरी आय आर्जन, गरिबी निवारण तथा आयात व्यवस्थापनलाई समेत सम्बोधन गर्नुपर्दछ । संघ, प्रदेश र स्थानीय तहको लगानीलाई कृषि क्षेत्रको समग्र विकासमा प्रभावकारी रुपबाट परिचालन गर्नु आजको आवश्यकता हो ।
असार महिनामा रोपाइँ शुरु गर्नुअगावै पञ्चत्व स्वरुपमा भूमिको पूजन गर्ने प्रथा हाम्रो देशमा छ । विशेष गरी मगर समुदायको चर्चित पर्व भूमे मगरातअन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्ला र दाङलगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ । रुकुमको मगर समुदाय आफ्नो पहिरनमा बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूलपाती टिपी ल्याउने गर्दछन् । पुर्खाले जंगल खोस्रेर अन्न बाली लगाउन थालेदेखि नै यो पर्व मनाउन थालेको इतिहास पाइन्छ । विशेष गरी भूमेपूजाको सन्दर्भ कृषि र वर्षासँग छ । आफ्नो चलनअनुसार ठाउँ हेरी असार १ गतेबाट नै औपचारिक रूपमा भूमेपूजा शुरु हुन्छ । जेठको अन्तिम दिन लेकबाट फूलपाती टिपेर ल्याई भूमिपूजा शुरु गरिन्छ । स्मरण रहोस्, यो कार्य गरेपछि वर्षाको कमी नहुने मान्यता छ । त्यसकारण, भूमेपूजाको महत्व खेतीपातीमा अझै बढेको छ । बाढी, पहिरो, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र खेतीपातीको राम्रो काम गर्दै भूमि माताको असारमा एक हप्तासम्म नाचगान, पूजा गरी मेला नै लाग्छ । भूमे पर्वलाई कसै–कसैले भूमे मेला भनेर पनि भन्छन् ।
चाहे भूमिमा केही निर्माण होस् या कृषिको भूमि परीक्षण एवं शोधपश्चात् भूमि पूजा गरिन्छ । यो पूजा भूमिमा गणेश स्थापना गरी गर्ने चलन छ । सनातन दर्शनमा भूमिलाई गौरूप मानिन्छ । तसर्थ, भूमिलाई षोडसोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुलदेवतालाई प्रणाम, अभिवादन गरी आ–आफ्नो विधिपूर्वक पूजा गरी नयाँ बाली लगाइन्छ । हाम्रो देशका सबै भागमा विभिन्न प्रकारबाट भूमि पूजा गर्ने आ–आफ्नो प्रचलन छँदै छ ।
असारलाई मुठी छरेर मुरी उत्पादन गर्ने महिनाको रुपमा लिइन्छ । असार–साउन महिना कृषकहरु भोक, तिर्खा र पसिना बिर्सेर खेतीपाती गर्नमा व्यस्त हुन्छन् । असार १५ लाई किसानहरु चाडको रुपमा दही, चिउरा, सेलरोटी, अचार खाई खुशीले मनाउँछन् । यो क्रममा ब्याडमा राखिएको धानको बीउलाई उखेलेर मुठा पार्ने मानिसलाई बीउ काढ्ने मानिस वा ब्याडे भनिन्छ । धानको बीउ रोप्नेलाई रोपार भनिन्छ भने सम्याएर खेत तयार पार्ने बाउसे हुन् । साथै आफ्नो रोपाइँ समाप्त भएपछि रोपाइँ समाप्त नुहनेलाई सघाउने प्रचलन पनि छ । खेतमा रोपाइँ सकिएपछि खुशीयालीको रुपमा मैजारो खाने हाम्रो संस्कृति छ । केही वर्षयता, असार पन्ध्रलाई राष्ट्रिय स्तरमा धान दिवसको रुपमा मनाउन थालिएको पनि पाइन्छ । रोपाइँ गर्दा एक प्रकारको असारे गीत गाई हिलो छ्यापाछ्याप गरी सो दिवस मनाउने संस्कृति छ ।
साँच्चै भन्नुपर्दा कुषिउपज हाम्रो जीवन हो । यो हाम्रो संस्कृतिको रुपमा जोडिएको छ । उदाहरणको रुपमा असार पन्ध्र दही, चिउरा, सेलरोटी, अचार खाने र साउने संक्रान्तिमा लुतो फ्याँकेर हरियो मकै पोली प्रसादको रुपमा खाने, साउन पन्ध्रमा खिर खाने, जनै पूर्णिमामा क्वाँटी खाने, दशैँमा दही–चिउरा, केरा खाने, तिहारमा सेलरोटी खाने, हरिबोधनी एकादशीमा फलफूल, सोको भोलिपल्ट द्वादशीमा नयाँ अन्न न्वागीको रुपमा दही–चामल खाने, पन्ध पुसमा लट्टे, माघे संक्रान्तिमा खिचडी, तरुल, चाकु, तीलको लड्डु र विभिन्न खाद्य परिकार, योमरी पूर्णिमामा योमरी, अक्षय त्रितियामा सातु–सर्बत खाइन्छ । यी माथिका खाद्यान्न परिकार हाम्रो रीतिरिवाजसँग जोडिएका छन् । पहिले यी अवसरमा यी खाद्यान्नबाट बनाएका परिकार खाइन्थ्यो भने आजभोलि जुन बेला पनि पहुँचको आधारमा खान पाइन्छ ।
हाम्रो देश कृषिप्रधान देश हो र कृषिसँग खाना जोडिएको छ । कृषि उत्पादन वृद्धि गर्न अपरिहार्य स्रोतसाधन र सामग्रीको न्यून उपलब्धता, आर्थिक, भौगोलिक पूर्वाधार जस्तै– सिंचाइ, सडक, कृषि बजार, शीत भण्डार, गोदाम घर, बिजुलीको अपर्याप्तता यहाँ मूल समस्याको रुपमा देखिएको पाइन्छ । कृषिजन्य उत्पादनमा आशातीत उपलब्धि हासिल गर्न उन्नत, नश्ल तथा बीउको प्रतिस्थापन दर पनि अन्त्यन्त कम छ । यसका अतिरिक्त वैदेशिक रोजगारीमा युवाशक्तिको पलायन, जग्गाको तीव्र खण्डीकरण पनि प्रमुख समस्याको रुपमा देखा परेको छ । साथै, कृषिमा वैज्ञानिक जनशक्ति व्यवस्थापन कमजोर, कृषिको आधुनिकीकरण, यान्त्रीकरण, व्यापारीकरण, औद्योगीकरणको कमजोर व्यवस्थापन प्रमुख समस्या हुन् । माथि भनेजस्तै मुख्य व्यावसायिक वातावरणको अपर्याप्तताको कारण कृषिका लागि आवश्यक पर्ने जनशक्तिको रुपमा रहेका युवा जनशक्ति अन्य क्षेत्र तथा वैदेशिक रोजगारमा संलग्न भई हाम्रा गाउँघरका कृषियोग्य जमिनको उत्पादकत्वमा ह्रास आएको छ । अर्काेतिर अव्यवस्थित शहरीकरण, जग्गाको खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवित्तिलाई निरुत्साहित गर्दै कृषि भूमिलाई उपयोगमा ल्याउनु तथा कृषि प्रसार सेवामा कृषकको पहुँच अभिवृद्धि गर्नु, सीमित स्रोतसाधन, कृषिऋण, बिमा, प्रविधि र ज्ञानको प्रयोगलाई तारतम्य व्यवस्था मिलाई कृषि उत्पादनमा वृद्धि गर्नु स्थानीय सरकारको प्रमुख भूमिका हो ।
भौगोलिक तथा जैविक विविधताजन्य सम्भाव्यता प्रभावकारी अध्ययन हुनु, पँुजी प्रेरणा, आत्मविश्वास र प्रविधिबारेको ज्ञानसहित वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि व्यवसायमा आकर्षण गर्नु, जैविक खेती र कृषि वनप्रति उद्यमी र सरोकारवालाको आकर्षण बढाउनु, उत्पादित वस्तुको देशभित्रै तथा बढी भएमा देशबाहिर व्यापारको पहुँच वृद्धि गर्नुपर्दछ । कृषिऋण, बिमा, नवीन प्रविधि आदिको प्रभावकारी विकास गर्नुका साथै जलवायु परिवर्तनसँग जुध्न ज्ञान, सीप, प्रविधि र स्रोतको उचित व्यवस्थापन गर्नुपर्दछ । यसमा माथि भनेजस्तै संघ, प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारकै अहं भूमिका रहन्छ । त्यसपछि मात्र कृषिउपजसँग जोडिएको हाम्रो संस्कृतिद्वारा कृषिमा क्रयशक्ति वृद्धि हुन्छ । यसका लागि जनस्तरमा मात्र नभएर तीनै तहका सरकारहरुको ध्यान आकृष्ट हुनु जरुरी छ ।
(लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधी हुनुहुन्छ ।)











प्रतिक्रिया