काठमाडौं।
आगामी असोज १ गतेदेखि देशभर सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ । संघको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेशका विषयगत मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो ।
सवारी दर्ता, नामसारी वा नवीकरण गर्न अब अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेको हुनुपर्ने भएको छ । त्यस्तै कार्यान्वयन प्रभावकारी बनाउन ट्राफिक प्रहरी परिचालनका लागि गृह मन्त्रालयसँग समन्वय गरिने भएको छ । सवारीको सम्पूर्ण विवरण डिजिटल प्रणालीबाट अनुगमन गर्न इम्बोस्ड प्लेटको व्यवस्था गरिएको हो । यसअघि २०७८ असोजदेखि अनिवार्य गर्ने निर्णय गरिए पनि व्यावहारिक चुनौतीका कारण कार्यान्वयन सुस्त भएको थियो ।
बैठकले सवारी चालक अनुमतिपत्र छपाइ कार्य यथाशीघ्र शुरू गर्न सुरक्षण मुद्रण केन्द्रलाई भदौ मसान्तभित्र उत्पादन शुरू गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकले सवारी व्यवस्थापन सुधारका लागि १० वर्षे सवारी चालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरूपता ल्याउने, तथ्यांक डिजिटलाइजेसन गर्ने, भुक्तानी प्रक्रिया विद्युतीय माध्यमबाट गर्ने, सफ्टवेयर प्रणाली चुस्त र व्यवस्थित बनाउने, राइड सेयरिङमा एकरूपता कायम गर्दै कार्यान्वयन गर्ने, बेरुजु फस्र्यौट प्रणालीलाई सुधार गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सवारी साधनको वार्षिक एकीकृत वर्गीकृत तथ्यांक प्रदेश मन्त्रालयमार्फत ०८२ वैशाख मसान्तसम्ममा प्राप्त हुनुपर्नेमा हालसम्म प्राप्त हुन नसकेकोले विभागले उपलब्ध गराएको ढाँचामा ०८२ असोज मसान्तसम्म उपलब्ध गराउन प्रदेश मन्त्रालयमार्फत सबै यातायात मन्त्रालय कार्यालयहरूलाई निर्देशन दिएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि मोटरसाइकल तथा स्कुटरको २ हजार ५ सय, कार÷जीप÷भ्यान÷ट्याक्टरको ३ हजार २ सय, ठूला सवारीको ३ हजार ६ सय रहेको छ ।











प्रतिक्रिया