भारतको उत्तराखण्डमा ‘क्लाउड ब्लास्ट’: दर्जनौं बेपत्ता, बजार र बस्ती ध्वस्त


काठमाडौं।

भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रस्थित धराली गाउँमा मंगलवार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । खीरगंगा गदेरामा बादल फाटेपछि आएको आकस्मिक बाढीले धराली बजार, घर, पसल र होटलहरू पूर्णरूपमा बगाएको हो ।

स्थानीय प्रशासनले हालसम्म ४ जनाको मृत्यु पुष्टि गरेको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएको दाबी गरेकोे छ । उद्धार तथा राहत कार्य तीव्र गतिमा जारी रहेको जनाइएको छ । मंगलबार बिहान करिब ६ बजेतिर, हर्षिल क्षेत्रको खीरगंगा गदेरामा बादल फाटेपछि आकस्मिक बाढी आएको थियो । बाढीको बहाव यति तीव्र थियो कि २०–२५ वटा होटल, होमस्टे, निजी घरहरू, पसलहरू बगाएर गदेरा नदीमा मिसाइदिएको थियो । बाढीका कारण सडकहरू अवरुद्ध भएका छन् ।
प्रशासनका अनुसार, बाढी आउँदा धेरैजसो मानिसहरू पूजाका लागि बाहिर निस्किएका थिए, जसले मानवीय क्षति अझ भयावह बनाइदिएको छ । बीबीसीसँग कुराकानी गर्दै धराली निवासी बिहानी आस्थाले भन्नुभयो– ‘मैले मेरो घरको छानाबाट धेरै होटलहरू बगिरहेको देखेँ । सम्पूर्ण धराली बजार समाप्त भएको छ ।’ उहाँको भनाइअनुसार गाउँका अधिकांश मानिसहरू बिहानै पूजा गर्न निस्किएका थिए, जसले उद्धारमा कठिनाइ उत्पन्न भएको छ ।

उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यले घटनाको पुष्टि गर्दै भन्नुभयो– ‘अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्धार टोलीहरू हराइरहेका व्यक्तिहरूको खोजीमा क्रियाशील छन् ।’ उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत धरालीमा भएको दुर्घटनाले मर्माहत बनाएको बताउनुभएको छ । उद्धार तथा राहत कार्यका लागि आवश्यक निर्देशन दिइएको पनि उहाँले बताउनुभएको छ ।

स्थानीय बासिन्दाले घटनाअघि कुनै प्रकारको मौसमसम्बन्धी चेतावनी प्राप्त नभएको गुनासो गरेका छन् । घटनापछि मात्र भारतीय मौसम विभागले उत्तराखण्डका केही जिल्लामा रेड अलर्ट जारी गरेको थियो । उद्धार कार्य जारी छ । हेलिकप्टरमार्फत उद्धार टोली क्षेत्रतर्फ पुगेका छन् । राहत शिविरहरू स्थापना गर्ने प्रक्रिया शुरू भइसकेको छ भने बेपत्ताहरूको खोजीलाई तीव्र पारिएको मुख्यमन्त्री धामीले बताउनुभएको छ ।

धरालीमा आएको यो प्राकृतिक विपत्ति उत्तराखण्डमा पछिल्ला वर्षहरूमा देखिएको सबैभन्दा विनाशकारी घटनामध्ये एक मानिएको छ । बाढीले ल्याएको संकटले जलवायु परिवर्तन, आपत्कालीन चेतावनी प्रणालीको कमजोरी, र जोखिमयुक्त क्षेत्र बसोबासजस्ता विषयहरूलाई गम्भीर रूपमा उठाएको छ ।