नेयमार चम्किंदा सान्तोसको जित


लन्डन, (एजेन्सी)

ब्राजिलियन लिगको खेलमा नेयमारको शानदार प्रदर्शनले सान्तोसले जितको नतिजा निकालेको छ ।
मंगलबार बिहान घरेलु मैदानमा भएको खेलमा सान्तोसले जुभेन्टुडेमाथि ३–१ गोलअन्तरको उत्साहजनक जित निकाल्दा कप्तान नेयमारले चम्किलो प्रदर्शन गरे । चोटपछिको पुनरागमनलाई अझै प्रभावशाली बनाउँदै नेयमारले सो खेलमा दुई गोल गर्दै टिमको जित सुनिश्चित गरेका हुन । उनले पहिलो गोल खेलको ३७औं मिनेटमा गरेका थिए । त्यसको केही मिनेटमै अल्भारो बाररियलले दोस्रो गोल थप्दा घरेलु समर्थक उत्साहित बने । यद्यपि, पहिलो हाफको इन्जुरी समयमा जुभेन्टुडेका विल्कर एन्जलले एक गोल फर्काएका थिए ।

तर, दोस्रो हाफको ८०औं मिनेटमा सान्तोसले पाएको पेनाल्टीलाई नेयमारले सहजै गोलमा परिणत गर्दै टिमको जित पक्का गरे । यो जित सान्तोसको लिगको १७ खेलपछि आएको पाँचौं जित हो । अहिले टिम १८ अंकसहित लिग तालिकाको १५औं स्थानमा छ । यद्यपि रेलिगेसनको डर भने अझै कायमै छ । नेयमारको नेतृत्वमा पछिल्ला केही प्रदर्शनले टिममा आत्मविश्वासको झिल्को देखिएको छ । नेयमारको निरन्तर चम्किलो उपस्थितिले समर्थकहरूलाई आशावादी बनाएको छ ।