काठमाडौं।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी २० क्रिकेट प्रतियोगिताको लागि खेलाडीको अक्सन यही आउँदो शनिबार हुने भएको छ । यस पटकको अक्सनलाई मिनी अक्सनको नाम दिइएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनमा सहभागी हुन ४ सय ५८ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।
लिगमा सहभागी रहने आठ टोलीले चाहेको तथा क्यानको प्राविधिक समितीले तयार गरेको मापदण्ड अनुसार रहने खेलाडीको अन्तिम सुची जारी भएको छैन । लिगमा सहभागीताका लागि दर्ता गराउनेको संख्या धेरै रहे पनि यस पटकको अक्सनमा केबल ३७ खेलाडीका लागि मात्र बोली लाग्नेछ ।
पहिलो संस्करणको एनपीएल अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा आबद्ध भएका थिए । यसमध्ये ५१ खेलाडीलाई टोलीहरूले सुरक्षित राख्दा बाँकी रहेका ३७ खेलाडीको स्थानका लागि अक्सन हुन लागेको हो ।
टोलीहरूमा सुरक्षित भएका खेलाडीहरू
–च्याम्पियन जनकपुर बोल्ट्समा रहेका मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन भएका अन्य खेलाडीमा अनिल कुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभम् कंसाकार र तुल बहादुर थापा रहेका छन् ।
–रनर अप सुदूरपश्चिम रोयल्सले ६ खेलाडीलाई सुरक्षित गरेको छ । जसमा, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनास बोहोरा, इशान पाण्डे र नरेन साउद हुन् ।
-कर्णाली याक्सले ७ खेलाडीलाई सुरक्षित गरेको छ । जसमा, मार्की खेलाडी सोमपाल कामी, नन्दन यादव, गुलशन झा, अर्जुन घर्ती, दीपेन्द्र रावत, यूनिश विक्रम सिंह ठकुरी र विपिन शर्मा परेका छन् ।
-चितवन राइनोजमा ६ खेलाडी सुरक्षित भएका छन् । जसमा, मार्की खेलाडी कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह रौतेला, दीपक बोहोरा र गौतम केसी रहेका छन् ।
-काठमाडौं गोर्खाजले पनि ६ खेलाडीलाई रिटेन गरेको छ । जसमा, मार्की खेलाडी करण केसी, राशिद खान, शाहब आलम, भीम सार्की, दीपेश कंडेल र प्रतिक श्रेष्ठ हुन् ।
-विराटनगर किंग्सले मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको छ । अन्यमा लोकेस बम, प्रतिस जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्ट रहेका छन् ।
-पोखरा एभेन्जर्सले ७ खेलाडीलाई टोलीमा सुरक्षित राखेको छ । सुरक्षित हुनेमा मार्की खेलाडी कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृत राज दास रहेका छन् ।
-लुम्बिनी लायन्सले मार्की खेलाडी रोहित कुमार पौडेल, विवेक कुमार यादव, सन्दीप जोरा, तिलक राज भण्डारी, दिनेश अधिकारी र अभिशेक गौतम गरी ६ खेलाडीलाई रिटेन गरेको छ ।
बोली लाग्ने श्रेणी र खेलाडी संख्या
श्रेणी ‘ए’ – ४ (न्युनतम १० लाख–अधिकतम १५ लाख)
श्रेणी ‘बी’ – २३ (न्युनतम ५ लाख–अधिकतम १० लाख)
श्रेणी ‘सी’ – १० (न्युनतम २ लाख–अधिकतम ५ लाख)











प्रतिक्रिया