ह्युन्ग मिन सन: एसियाली फुटबलका प्रेरणा

564
Shares

कहिलेकाहीँ कुनै खेलाडी फुटबल मैदानमा खेल्न र गोल गर्न मात्र जन्मिएका हुँदैनन । उनीहरू इतिहास कोर्न, मनहरू जोड्न र सपनाहरूमा पखेटा लगाइदिन जन्मेका हुन्छन् । दक्षिण कोरियाको एउटा सानो सहरमा जन्मेका एक सामान्य केटो ह्युन्ग मिन सन, त्यस्तै कथाका एक उदाहरणीय पात्र हुन् ।

सन मैदानमा नायक मात्र होइनन्, करोडौंको मनमा उज्यालो बन्न सफल सूर्यसमेत हुन् । सानैदेखि उनको आँखामा विश्व फुटबलको सबैभन्दा चर्चित मञ्चमा उभिने सपना थियो । तर, त्यो सपना केवल आँखामा मात्र अडिएको थिएन, त्यो पसिनाको धारासँग बगिरहेको थियो, आँसुका थोपासँग पोखिएको थियो र हरेक सफलताको पिँधमा एउटा मौन संघर्षका रूपमा गढिएको थियो ।

सानै उमेरमा घर छाडेर युरोपको कठोर, अपरिचित फुटबल संसारमा पाइला राख्नु सजिलो थिएन । भाषा थाहा थिएन, संस्कृतिको भिन्नता थियो । तर, उनको आँखामा भने सपना थियो विश्वकै उत्कृष्ट फुटबलर बन्ने । त्यो सपना उनले देखेनन् मात्र, त्यसलाई हरेक पसिना, आँसु, र बलिदानले यथार्थमा परिणत गरेर देखाइदिए ।

टोटेनह्याम हटस्पर्ससँगैको यात्रा उनको एउटा साकार भएको सपना बन्यो । जुन क्लबको इतिहासमै सुनौलो अक्षरले लेखिएको छ । सनले भनेका थिए, “जब म टोटेनह्याममा पहिलोपटक आएँ, म अंग्रेजी भाषा बोल्न सक्दिन्थेँ । डराएको थिएँ, तर अहिले म परिपक्व छु । यहाँ मैले फुटबल मात्र होइन, जीवन पनि सिकेँ ।”
उनको हर खेल केवल स्कोरबोर्डका लागि मात्र थिएन, त्यो लाखौँ दर्शकका लागि प्रेरणाको कथा सरह हुन्थ्यो । इंग्लिश प्रिमियर लिगमा १ सयभन्दा बढी गोल, गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी, प्रतिष्ठित बालोन डी ओर अवार्डमा उच्च स्थान र ह्यारी केन जस्ता वजनदार नामसँगको अविस्मरणीय साझेदारी । यी सबै उपलब्धिहरूले उनलाई केवल टोटेनह्यामको मात्रै नभएर सम्पूर्ण एसियाली फुटबलकै गौरव बनायो ।

टोटेनह्यामका लागि ४ सय ५४ खेल, १ सय ७३ गोल र ९४ असिस्टको संख्याले मात्र उनको सफलता मापन गर्न सक्दैन । किनभने उनले डिफेन्डरहरूलाई छक्याएर दर्शकहरूको मन जिते, हारमा पनि मुस्कान बाँडेर आशा जगाए । जब उनी टोटेनह्यामबाट विदा भए, त्यो केवल क्लब परिवर्तन मात्र थिएन, त्यो थियो एउटा युगको अन्त्य ।

लामो अन्तरालपछि क्लबलाई युरोपा कप दिलाउने क्रममा फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको उनको प्रदर्शन टोटेनह्यामको इतिहासमा सुनौलो अक्षरमा लेखिनेछ । ह्यारी केनसँगको उनको समझदारी राम्रो लयमा मिसिएको सुर–तालको संगीतजस्तै र सम्बन्ध शब्दविनाको संवाद जस्तै थियो । जुन स्पर्स समर्थकहरूका लागि भावनाको स्वरूप बन्न पुगे ।

त्यो सहकार्यले दर्शकहरूलाई खेलको सौन्दर्य अनुभूत गरायो । उनीहरूको खेल हेर्दा फुटबल केवल खेल मात्र नभएर एउटा कला पनि हो भन्ने भान गराउँथ्यो । आज एसियाका हजारौं फुटबलप्रेमी बालबालिकाहरू उनलाई हेरेर सपना बुन्छन । “हामी पनि सक्छौं” भनेर उनीहरूको आँखामा आशा पलाएको छ । किनभने ह्युन्ग मिन सनको यात्राले देश, भाषा वा रंगले होइन, दृढ संकल्प, मेहनत र आत्मबलले मात्र सपनाहरू पुरा हुन्छ भनेर प्रमाणित गरेको छ ।

ह्युन्ग मिन सन एक खेलाडी मात्र होइनन्, उनी त प्रेरणा हुन् । जसले एसियाली फुटबललाई गौरव दिलायो, आत्मसम्मान दिलायो र विश्व फुटबलको क्षितिजमा एउटा सूर्य बन्न सफल भयो । एउटा त्यस्तो सूर्य जसले धेरै एसियाली फुटबलरहरुको जीवनमा सम्भावनाको ज्योति बालेको छ ।