उत्तराखण्डको उत्तरकाशीमा बादल फुट्दा चार जनाको मृत्यु, धराली बजारमा ठूलो क्षति


उत्तरकाशी भारत।

उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित हर्षिल क्षेत्रमा मंगलबार बिहान भीषण प्राकृतिक विपत्ति भएको छ। खीर गंगा गदेरामा आएको बाढीका कारण धराली बजारमा क्षति भएको छ। हालसम्म चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने कयौं बेपत्ता भएको आशंका गरिएको छ।

जिल्ला प्रशासनका अनुसार हर्षिल क्षेत्रमा बादल फुटेपछि खीर गंगा गदेराको पानीको बहाव अत्यधिक बढ्दा बाढीका साथ भग्नावशेष तीव्र गतिमा बगिरहेको थियो। यसले धराली गाउँ र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।

उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यले पुष्टि गरेअनुसार, “अहिलेसम्म चार जनाको मृत्यु भएको छ र केही सम्पत्तिमा पनि क्षति पुगेको छ। उद्धार र राहत कार्यका लागि टोलीहरू सक्रिय छन्।”

मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जाल X मा घटनाप्रति दुःख व्यक्त गर्दै सबै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले भने, “हामी वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा छौं र अवस्था नजिकबाट निगरानीमा राखिएको छ। एनडीआरएफ, एसडीआरएफ तथा विपद् व्यवस्थापन विभाग उद्धार र राहत कार्यमा खटिएका छन्।”

बीबीसीसँग कुराकानी गर्दै धराली निवासी आस्थाले भनिन्, “मैले मेरो घरको छानाबाट धेरै होटलहरू बगिरहेको देखेँ। धरालीको सम्पूर्ण बजार समाप्त भएको छ। कुनै चेतावनी पनि आएको थिएन।” उनका अनुसार घटनाको समयमा गाउँका धेरै मानिसहरू पूजा गर्न निस्किरहेका थिए र अहिले पनि धेरै बेपत्ता छन्।

हाल उद्धार कार्य जारी रहेको छ भने प्रशासनले सम्भावित जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। बीबीसीबाट