काठमाडौँ ।
एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका अर्पिल रानाले पदक पक्का गरेका छन् ।
थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको पुरुष ५० केजी तौलसमूहमा उनले सेमिफाइनलमा प्रवेश गरेसँगै कम्तीमा कांस्य पदक सुनिश्चित भएको हो । नेपाल बक्सिङ महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वयकर्ता श्यामकाजी अवालेका अनुसार अर्पिलले भुटानी मुक्केबाज किन्ले फुन्चोलाई ४–१ को स्प्लिट निर्णयमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
यसअघि अर्पिलले साउदी अरबका इब्राहीमलाई ५–० को स्पष्ट अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेका थिए । अब अर्पिलले अगष्ट ६ मा जापानका सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । कोटोले क्वाटरफाइनलमा फिलिपिनी प्रतिद्वन्द्वीलाई ५–० ले हराएका थिए । नेपालका लागि यो प्रतियोगितामा महत्वपूर्ण सफलता मानिएको छ । विशेषगरी यु–२२ उमेर समूहको अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावनासहित अर्पिलको प्रगति उत्साहजनक देखिएको छ ।











प्रतिक्रिया