नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ऐतिहासिक सफलता :  ९१.८२ प्रतिशत उत्तीर्ण


काठमाडौँ। 

नेपालको चिकित्सा शिक्षा क्षेत्रका लागि उत्साहजनक खबर आएको छ। नेपाल मेडिकल काउन्सिलले गत साउन १५ र १६ गते सञ्चालन गरेको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा ९क्उभअष्ब िभ्हबm० मा सहभागीमध्ये ९१।८२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। यो नतिजा इतिहासमै सबैभन्दा उच्च दर हो, जसले अघिल्लो वर्षको रेकर्डसमेत तोडेको छ।

गत वर्ष साउन १७ र १८ मा सम्पन्न परीक्षामा ९१.४५ प्रतिशत विद्यार्थीले सफलता हासिल गरेका थिए। यस वर्ष त्यो भन्दा ०.३७ प्रतिशतले बढीपरीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले यसलाई “ऐतिहासिक रेकर्ड” को रूपमा घोषणा गरेको छ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, यसपटक कुल १,०७९ जना परीक्षार्थीले फारम भरेका थिए, जसमा १,०७६ जनापरीक्षामा सहभागी भए। तीमध्ये ९९८ जना उत्तीर्ण भएका छन् भने ४ जनाको नतिजा ‘withheld’  राखिएको छ। यो नतिजा चिकित्सक वर्गमा सकारात्मक ऊर्जा र विश्वासको स्रोत बनेको छ।

परीक्षामा ३६ वटा विषय समावेश थिए, जसमा विभिन्न विशेषज्ञ चिकित्सकहरुले सहभागिता जनाएका थिए। यस्तो व्यापक विषयगत सहभागिताले परीक्षा व्यवस्थापन र मूल्यांकनको गुणस्तरप्रति पनि सकारात्मक संकेत दिएको छ।

काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालले यसपटकको उच्च सफलता दरको प्रमुख कारणको रूपमा भर्खरै  पास आउट भएका विद्यार्थीहरुूलाई देखाएका छन् । उनका अनुसार, नयाँ पुस्ताका विद्यार्थीहरु हालै अध्ययन सकेका र तयारी अवस्थामा रहेका कारण उनीहरुका लागि प्रश्नहरू तुलनात्मक रूपमा सहज हुनसक्ने सम्भावना छ। साथै, विज्ञ टोलीको सहायतामा तयार गरिएको परीक्षा प्रणालीले पनि पारदर्शिता र व्यावसायिकताको नयाँ मापदण्ड स्थापित गरेको छ।

यो ऐतिहासिक नतिजाले नेपाली चिकित्सा क्षेत्रमा नयाँ ढोका खोलेको छ। यसले देखाएको छ कि अहिलेका युवा चिकित्सकहरु दक्षता, लगनशीलता र जिम्मेवारीमा अब्बल छन्। साथै, चिकित्सा शिक्षाको गुणस्तरमा सुधार हुँदै गएको संकेत पनि दिएको छ।

उत्तीर्ण भएका ९९८ जना विशेषज्ञ चिकित्सक अब देशभरका अस्पताल, स्वास्थ्य केन्द्र तथा शैक्षिक संस्थानहरुमा आफ्नो सेवा दिन सक्नेछन्। यो उपलब्धिले देशको स्वास्थ्य सेवाको गुणस्तर उकास्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नेपाल मेडिकल काउन्सिललाई धन्यवाद दिँदै विभिन्न चिकित्सक संघ–संस्थाहरुले यो पारदर्शी परीक्षा प्रणालीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। यस खालका सकारात्मक नतिजाले विद्यार्थीहरुमा उत्साह बढाउनुका साथै आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास पनि बलियो बनाउँछ।

समग्रमा, यो वर्षको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा केवल एक नतिजा मात्र होइन, यो नेपाली स्वास्थ्य क्षेत्रको उत्कृष्टताको प्रतिबिम्ब पनि हो।