उर्वशी रौटेलाको ७० लाख बराबरको गहना चोरी



एजेन्सी, लन्डन ।

भारतीय अभिनेत्री उर्वशी रौटेलाले लन्डनको ग्याटविक विमानस्थलमा ७० लाख रुपैयाँ बराबरको गहना भएको लक्जरी झोला चोरी भएको दाबी गरेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले सार्वजनिक रूपमा आफ्नो पीडा व्यक्त गरेकी हुन्।

उनी विम्बलडन टेनिस टूर्नामेन्ट हेर्न लन्डन पुगेकी थिइन्। यही क्रममा मुम्बईबाट एमिरेट्स एयरलाइन्समार्फत उडेर ग्याटविक विमानस्थलमा ओर्लिएपछि लगेज बेल्टबाट ‘डायर ब्राउन’ झोला हराएको उनको भनाइ छ।

इन्स्टाग्राम पोस्टमा उनले झोलाको तस्बिरसहित लेखेकी छिन्, “अन्याय सहनु भनेको अन्याय दोहोर्‍याउनु हो। विम्बलडनको समयमा हाम्रो डायर ब्राउन झोला ग्याटविक एयरपोर्टमा चोरी भयो। तत्काल सहायता गरियोस्।”

उनले एमिरेट्स एयरलाइन्स र लन्डन प्रहरीले तुरुन्त कारबाही गर्नुपर्ने माग गरेकी छिन्। अभिनेत्रीको भनाइमा, एयरपोर्ट अधिकारीले अझैसम्म गुनासोको जवाफ दिएका छैनन्।

हेडलाइन बनाएकी उर्वशी, १४ करोडको ड्रेस र लबूबू गुडियासहित

हालै सम्पन्न विम्बलडन टेनिसमा उर्वशीले विशेष ध्यान तानिन्। उनी महिला एकल खेल हेर्न १४ करोड रुपैयाँ मूल्यको पहिरनमा देखिएकी थिइन्। त्यही दिन उनीसँग ‘लबूबू’ गुडियाहरूको संग्रह भएको झोला हराएको दाबी गरिएको हो।

यो पहिलो पटक होइन, जब उर्वशीले आफ्नो निजी सामान हराएको गुनासो गरेकी हुन्। सन् २०२३ मा उनले भारत–पाकिस्तान क्रिकेट खेलको क्रममा नरेन्द्र मोदी स्टेडियममा २४ क्यारेट सुनको आइफोन चोरी भएको दाबी गरेकी थिइन्।

‘डाकु महाराज’ मा देखिएकी उर्वशी

कामको सन्दर्भमा उर्वशी हालै रिलिज भएको तेलुगु फिल्म ‘डाकु महाराज’ मा नन्दमुरी बालकृष्णसँग देखिएकी थिइन्। अभिनयसँगै सामाजिक सञ्जालमा क्रियाशील उर्वशी चर्चामा रहिरहने अभिनेत्री हुन्।
सुरक्षा प्रणालीमाथि प्रश्न

उर्वशीको झोला हराएको घटनाले फेरि एक पटक अन्तर्राष्ट्रिय विमानस्थलहरूको सुरक्षा र लगेज व्यवस्थापनमाथि प्रश्न उठाएको छ। विशेषगरी प्रतिष्ठित एयरलाइन्स र अन्तर्राष्ट्रिय एयरपोर्टमा पटक–पटक यस्ता घटनाहरू हुनु चिन्ताजनक विषय हो।
अब लन्डन प्रहरी र एमिरेट्स एयरलाइन्सले कस्तो जवाफ दिन्छन् र अभिनेत्रीको हराएको झोला फिर्ता हुन्छ कि हुँदैन, त्यो हेर्न बाँकी नै छ।