बझाङको बाघ’ रवीन्द्र ढाटले बनाए इतिहास

एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर

1.6k
Shares

काठमाडौं ।

शनिवार राति भारतको मुम्बईमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा ‘बझाङको बाघ’बाट परिचित नेपालका एमएमए फाइटर रवीन्द्र ढाटले इतिहास रचेका छन् ।

उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन् । यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले शुरूदेखि नै आक्रामक शैलीमा फाइट थालेका थिए, तर ढाटले धैर्य र रणनीतिक फाइटिङ शैलीमार्फत तेस्रो राउन्डमा निर्णायक कम्बिनेसन प्रहार गर्दै रेफ्रीद्वारा टीकेओ (टेक्निकल नकआउट) मार्फत जित दर्ता गरे ।

यो जितसँगै रवीन्द्रको प्रोफेसनल एमएमए रेकर्ड ८–१ मा पुगेको छ भने कोरेनको पाँच जितको अपराजित यात्रामा पूर्णविराम लागेको छ । खेलपछि ढाटले नेपाली झण्डा फहराउँदै ‘जय नेपाल, जय हनुमान’ भन्दै रिङ छाडेका थिए । भारतमै नेपाली फाइटरले यस्तो ऐतिहासिक सफलता प्राप्त गर्दा खेलप्रेमीमात्र नभई समस्त नेपालीको गौरव बढेको छ । उनको यस ऐतिहासिक जितले सम्पूर्ण नेपालमा उत्सवको माहोल बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर कलाकार, खेलप्रेमी र सर्वसाधारणसम्मले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिइरहेका छन् ।

गायिका रचना रिमाल, निर्माता सन्तोष सेनलगायतले उनको साहस र मेहनतको प्रशंसा गरेका छन् । ढाटले भने बलिउड अभिनेता ज्याकी श्राफकै पहलमा आफू एमएफएनमा पुगेको खुलासा गर्दै श्राफ, उनकी पत्नी आयशा श्राफ र आफ्ना मेन्टर दिविज लामालाई विशेष धन्यवाद दिएका छन् । खेल हेर्न भारतीय अभिनेता गुल्सन ग्रोवर पनि उपस्थित थिए । त्यस्तै, सामाजिक सञ्जालमा उनका केही समर्थकहरूले त बलिउडमा रवीन्द्रको जीवनीमा आधारित फिल्म नै बनाउनुपर्ने सुझावसमेत दिएका छन् ।
को हुन् रवीन्द्र ?

रवीन्द्र ढाट एक सामान्य परिवारबाट उदाएका असाधारण नेपाली खेलाडी हुन् । जसको जीवन संघर्ष, आत्मसम्मान र राष्ट्रप्रेमले भरिएको छ । केही वर्षअघि आफ्नो जन्मभूमि बझाङबाट भारतमा मजदुरी गर्न पुगेका उनले त्यहीँ कमाएको पैसाले मिक्स्ड मार्सल आट्र्स (एमएमए) को प्रशिक्षण लिए, अनि विभिन्न प्रतियोगितामा भाग लिन थाले ।

भारतको राष्ट्रिय एमएमए प्रतियोगिता जितेपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरियो । यो अवसरसँगै उनीसामु एउटा महत्वपूर्ण मोड आयो । जहाँ उनले भारतीय झण्डा बोकेर खेल्ने कि आफ्नो नेपाली पहिचान र राष्ट्रप्रेमलाई बचाउने भन्ने गम्भीर निर्णय लिनुपर्‍यो ।

उनी भन्छन्– ‘मलाई भारतको झण्डामुनि खेल्न भनियो, तर म त नेपाली हुँ, म त्यो गर्न सक्दिनथेँ ।’ यो प्रस्ताव स्वीकार गरेको भए उनले अन्तर्राष्ट्रिय स्तरमा बढीभन्दा बढी सुविधासहित ठूलो सफलता हात पार्न सक्थे, तर नेपाली पहिचान त्याग्नुपर्ने सर्त उनलाई स्वीकार्य थिएन । उनले पदक वा नामका लागि आफ्नो माटो साट्न चाहेनन् किनकि उनले देश रोजेका थिए ।