लन्डन, (एजेन्सी)
पाकिस्तान च्याम्पियन्सविरुद्ध ९ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका च्याम्पियन्सले वल्र्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि जितेको छ ।
एजबास्टमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.५ ओभरमा पूरा गरेको हो । दक्षिण अप्रिलका लागि एबी डीभिलियर्सले ६० बलमा १२ चौका र ७ छक्काको मद्दतले अविजित १ सय २० रनको योगदान गरे । यसैगरी जेपी डुमिनीले २८ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए ।
डीभिलियर्सले दोस्रो विकेटका लागि डुमिनीसँग अविजित ८५ र पहिलो विकेटका लागि अमलासँग ७२ रनको साझेदारी गरेका थिए । जसमा अमलाको योगदान केवल १८ रन मात्रै थियो । पाकिस्तानका लागि एकमात्र विकेट सइद अजमलले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि शर्जिल खानले ५५ बलमा ९ चौका र चार छक्कासहित सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी उमर अमिनले ३६, आसिफ अलीले २८, शोएब मलिकले २० र कप्तान मोहम्मद हाफिजले १७ रन बनाए ।
तेस्रो विकेटका लागि खान र मलिकबीच ७२ रनको साझेदारी भएको थियो । दक्षिण अफ्रिकाका लागि वायन पार्नेल र हार्डस भिल्जोएनले समान दुई तथा डुने ओलिभियर र इम्रान ताहिरले समान एक विकेट लिए ।











प्रतिक्रिया