रुसमा पाँच सय वर्षपछि ज्वालामुखी विस्फोट, शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने आशंका


एजेन्सी।

रुसको सुदूर पूर्वी क्षेत्रमा रहेको क्राशेनिनिकोभ ज्वालामुखीमा करिब ५०० वर्षपछि पहिलोपटक विस्फोट भएको छ। ज्वालामुखी विस्फोटपछि करिब ६ किलोमिटर उचाइसम्म खरानीको बाक्लो मुस्लो आकाशतर्फ उठेको रूसी अधिकारीहरूले जनाएका छन्। रुसको आपतकालीन मन्त्रालयले घटनास्थल वरिपरिका बस्तीहरूमा तत्काल कुनै खतरा नभएको स्पष्ट पारेको छ।

विज्ञहरूका अनुसार यो विस्फोट हालै आएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने संकेत देखिएका छन्। गत हप्ता सोही क्षेत्रमा ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
तर भूकम्पपछि रुसकै तीनवटा क्षेत्रमा सुनामी चेतावनी जारी गरिएको थियो। यसका असरले चिली र फ्रान्सेली पोलिनेसियाजस्ता टाढा रहेका तटीय मुलुकहरूमा पनि सतर्कता अपनाइएको थियो।

यस ज्वालामुखीको विस्फोट ५०० वर्षपछि भएको दुर्लभ घटना हो, जसले भूगर्भविद्हरूलाई नयाँ अनुसन्धानका लागि गम्भीर आधार बनाएको छ।