ब्राजिल नवौं पटक च्याम्पियन


काठमाडौं।

कोलम्बियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै ब्राजिल लगातार पाँचौं पटक महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । यो ब्राजिली महिला टोलीको समग्रमा प्रतियोगितामा नवौं उपाधिसमेत हो ।

उता, कोलम्बियाको लागि भने चौथो फाइनलमा पनि उपविजेतामै चित्त बुझाउनु प¥यो । गत २०२२ को फाइनलमा पनि कोलम्बिया ब्राजिलसँगैं पराजित भएको थियो । यसअघि कोलम्बिया २०१० र २०१४ को फाइनलमा पनि हारेको थियो । यी चारै फाइनलमा कोलम्बियाको प्रतिद्वन्द्वी ब्राजिल नै रहेको छ ।

रोड्रिगो पाज डेल्गाडोमा आइतबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट ४–४ गोल भएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।

अर्जेन्टिना तेस्रो स्थानमा

अर्जेन्टिनाले महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै जित सुनिश्चित गरेको हो । अर्जेन्टिना लगातार तेस्रो पटक तेस्रो स्थानमै रहेको हो ।