काठमाडौं ।
रुस र युक्रेनबीच जारी द्वन्द्व झनै भयावह मोडमा पुगेको छ। पछिल्लो समय युक्रेनी ड्रोन आक्रमणपछि रुसले तीव्र प्रतिक्रिया जनाउँदै प्रतिआक्रमणहरूलाई तीव्र बनाएको छ। युक्रेनको पूर्वी क्षेत्र र डोनेट्स्क–लुहान्स्क आसपासमा रुसले भारी बमबारी गरिरहेको छ भने युक्रेनले पनि दक्षिणी मोर्चामा ड्रोन्समार्फत रूसी सैन्य संरचनामा हमला गरिरहेको छ। तर अब, युद्धले आणविक सुरक्षासम्म चुनौती पुर्याउने अवस्था सिर्जना भएको छ।
जापोरिजिया आणविक प्लान्ट नजिक विस्फोट
रुसले कब्जा गरेको युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्र नजिकै भयानक विस्फोट भएको पुष्टि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले गरेको छ। एजेन्सीका महानिर्देशक राफेल मारियानो ग्रोसीका अनुसार प्लान्टबाट धेरै टाढा नपर्ने स्थानमा विस्फोटको आवाज सुनेको र धुवाँ निस्किएको देखिएको छ। यो विस्फोट प्लान्टकै एक भागमा भएको आशंका गरिएको छ, जसले गर्दा आणविक सुरक्षा चिन्ताजनक बनेको हो।
ग्रोसीले चेतावनी दिँदै भने, “युद्धले आणविक ऊर्जा स्थापनालाई प्रभावित पार्नु गम्भीर विषय हो। यसले केवल युद्धरत मुलुकहरूमा होइन, सम्पूर्ण यूरोप र विश्व समुदायमा गहिरो प्रभाव पार्न सक्छ।”
रुसको प्रतिआक्रमणः युक्रेनको ढाड भाँच्ने रणनीति
युक्रेनको पछिल्लो ड्रोन आक्रमणपछि रुसले तीव्र आक्रमण सुरू गरेको छ। विशेषगरी खार्किभ, ओडेसा, डोनेट्स्कलगायत क्षेत्रमा रूसी मिसाइल आक्रमण जारी छन्। युक्रेनी सञ्चार माध्यमहरूका अनुसार रुसले हालै केही प्रमुख गोदामहरू, रेलवे स्टेसन, र डिफेन्स हेडक्वार्टरलाई निशाना बनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्लो सम्बोधनमा “युक्रेनको संरचना टुक्र्याउने अभियानलाई तीव्र बनाउने” चेतावनी दिएका थिए।
युक्रेनको अडानः हार स्वीकार गर्दिन
युद्धको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले हार स्वीकार गर्ने संकेत दिएको छैन। राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले पुनः दोहोर्याए, “हामी हाम्रो माटोको रक्षा अन्तिम क्षणसम्म गर्छौं। अन्तर्राष्ट्रिय समुदाय र हाम्रो जनताको समर्थन हामीसँग छ।” युक्रेनले पछिल्लो चरणमा लामो दूरीका ड्रोन हमला, क्षेप्यास्त्र प्रणाली र अमेरिकी तथा युरोपेली सहयोगमा प्रविधिमा आधारित युद्ध रणनीति अपनाउँदै आएको छ।
आणविक जोखिमः अन्तर्राष्ट्रिय चिन्ता
जापोरिजिया प्लान्ट नजिकैको विस्फोटलाई “रातो संकेत” मानिएको छ । युद्ध क्षेत्र नजिक रहेको यो प्लान्ट सन् २०२२ को सुरुवातदेखि नै रूसी सेनाको नियन्त्रणमा रहेको छ। कुनैपनि समयमा प्लान्टमा प्रत्यक्ष हमला भएमा त्यसले चेर्नोबिल जस्तो आणविक दुर्घटनाको भय जगाउने सम्भावना रहन्छ। अमेरिकासहित संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले तत्काल संयमता अपनाउन आग्रह गरेका छन्।
रुस–युक्रेन युद्ध शान्ति वार्ता भन्दा पनि सामरिक प्रतिशोधको दौडमा परिणत हुँदै गएको छ। अब यो लडाइँ केवल सीमा र भू–भागको लडाइँ मात्र नभई, सम्पूर्ण युरोपको ऊर्जा सुरक्षामा समेत जोखिम बनिरहेको छ। आणविक प्लान्ट वरिपरिको घटनाले यो युद्धका सम्भावित दुष्परिणामहरू झनै स्पष्ट बनाइरहेको छ। यदि अन्तर्राष्ट्रिय हस्तक्षेप र संयम कायम भएन भने, यो द्वन्द्व अझै घातक रूप लिन सक्ने गम्भीर संकेतहरू देखिन थालेका छन्।











प्रतिक्रिया